स्वस्थानी व्रत कथा आजबाट सम्पन्न हुने
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ४, बुधबार

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने माधवनारायण व्रत पूजा र स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदैछ ।
गत पौष शुक्ल पुर्णिमाबाट एक महिने व्रत शुरु गरेकाहरुले आज पूजाका सामग्री र विधि पूरा गर्दै व्रत पूजाको साङ्गे गर्दैछन् ।
पूजाको क्रममा १०८ जनै, १०८ कुड्का सुपारी, १०८ पान, १०८ फूल , १०८ रोटी, १०८ अक्षताको साथमा विभिन्न फलफूल, नैवेद्य, वस्त्र आदी भेटी चढाई धूप, दीप, चन्दन, रक्तचन्दन, सिन्दूर आदिसहित स्वस्थानी देवी वा देवताको पूजा अर्चना गरिन्छ ।
चढाइएकाे प्रसादमध्ये सबैबाट आठ–आठ वटा पतिलाई दिने गरिन्छ । पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई अथवा मीत छोरा पनि नभए आफ्नो कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने गरिन्छ ।
आज विधिपूर्वक व्रत पूजा लगाई रातभर जाग्राम बसी भोलि विहान फुल आदि नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।
स्वस्थानी भन्नाले आफु बसेको स्थान अर्थात स्व स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
काठमाडौंबाट १७ किलोमिटर उत्तरपूर्वमा अवस्थित साँखुको माधवनारायण व्रत मेला पनि आजैबाट सम्पन्न हुँदैछ । यसैगरी भक्तपुरको हनुमानघाटको स्वस्थानी व्रत पूजाको पनि आजै साङ्गे गरिँदैछ ।
साथै एक महिनादेखि हिन्दुहरुको घर घरमा वाचन हुँदै आएको स्वस्थानी व्रत कथा पनि आजैबाट सम्पन्न हुँदैछ ।
विगत एक महिनादेखि घरघरमा सुनाउँदै र सुनिँदै आएको स्कन्दपुराण अन्तर्गत केदारखण्ड माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाको रूपमा सुन्ने र सुनाउने गरिन्छ ।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव वर पाउन विष्णुको निर्देशन अनुसार स्वस्थानीको व्रत गरेको प्रसङ्ग स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ ।
त्यस्तै सतिदेवी दक्षप्रजापतिको यज्ञमा होमिने, सतिदेवीको अङ्गपतन, ७ वर्षकी गोमा ब्राह्मणीको सत्तरी वर्षको शिवशर्मा ब्राम्हणसँग बिवाह, गोमा ब्राम्हणीका छोरा नवराज लावण्य देशको राजा हुने आदि घटनाक्रमहरुलाई स्वस्थानी व्रत कथामा वाचन गर्ने र सुन्ने गरिन्छ ।
Categorized in संस्कृति