स्वयम्भूको १७ घर पुनर्निर्माणपछि बैशाख १३ गते हस्तान्तरण
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १०, शुक्रबार

काठमाडौंको स्वयम्भू महाचैत्य स्तुप परिसरको कर्मराज महाविहार (गुम्बा) सँगै १७ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।
आज स्वयम्भू पुनर्निर्माण समितिले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ०७२ सालको भूकम्पमा क्षतिग्रस्त कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा कर्मराज महाविहारसँगै सयौं वर्षदेखि स्वयम्भूका पुजारी बुद्धाचार्य वंशको परिवार बसोबास गर्दै आएको १७ घरको पनि पुनर्निर्माण सम्पन्न भएको बताइएको थियो ।
स्वयम्भु पुनर्निर्माण समितिका अध्यक्ष साथै काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले त्यहाँ रहेका घरहरु एकीकरण गरी एकिकृत वस्ती प्रणाली अन्तर्गत सञ्चालन गरेको यो काठमाडौं महानगरपालिकाका पहिलो योजना भएको बताउनुभयो ।
यहाँका घरहरुलाई एकीकरण गरी महानगरले एउटै भवनको नक्सा स्वीकृत गरिएको हो । डंगोलका अनुसार पुरातत्व विभागसँग समन्वय गरी घरहरुलाई एउटै शैलीमा तयार गरिएको छ भने ती घरहरु बेच्न नपाइने तर पुस्तामा मात्रै हक हस्तान्तरण हुनेछ ।
यहाँका सम्पूर्ण संरचनाको पुनर्निर्माणका लागि महानगरको कार्यपालिका बैठकले दुई वर्ष अगाडी काठमाडौं महानगरपालिकाका प्रवक्ता साथै वडा १५ का अध्यक्ष डंगोलको अध्यक्षतामा ‘स्वयम्भु पुनर्निर्माण समिति’ गठन गरेको थियो ।
पुनर्निर्माणका लागि करीब १५ करोड रुपैयाँको लागत अनुमान गरिएको थियो भने १३ करोड ५२ लाख रुपैयाँमै पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
उक्त लागतमा ३० प्रतिशत घरधनीले व्यहारेका थिए भने बाँकि अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेबाट सहयोग भएको थियो । यसको लागि वडा कार्यालय र कर्मराज महाविहार बीच सम्झौता भएको थियो ।
पुनर्निर्माण सम्पन्न भएका घरहरु आउँदो बैशाख १३ गते हस्तातरण गर्ने कार्यक्रम तय भएको छ ।
Categorized in स्थानीय