तामाङलाई थुनामै राख्न आदेश
SamacharDesk | २०७९ आश्विन २९, शनिबार

आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी नागरिकहरुको रकम हिनामिना गरेको अभियोग लागेको पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तामाङ र केशवलाल श्रेष्ठले ती कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रुपन्तरण समेतका निषेधित कार्यहरु गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मनसायले आफ्ना परिवारका मानिसहरुबीच अशंबण्डा गरी आपm्नो र परिवारका मानिहरु संलग्न रहेका सिभिल होम्स प्रालि लगायतका कम्पनीहरुमा गैरकानुनी स्रोतको रकम लगानी गरी सम्पत्ति लुकाइछिपाइ राखेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग लगाएको थियो ।
विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा ६ जना प्रतिवादीबाट कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, उनीहरुलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको सजाय माग गरिएको हो ।
Categorized in अपराध