ललितपुर उद्योग वाणिज्य संघलाई नयाँ गति दिने ताम्रकारको दावी
SamacharDesk – बिराज | २०८० आश्विन २, मंगलबार

ललितपुरका उद्यमी तथा समाजसेवी रविन्द्र राज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघलाई आफुले नयाँ उचाई र गति दिने दावी गरेका छन् ।
संघको आसन्न ४४औं वार्षिक साधारण सभाको निर्वाचनको उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा ताम्रकारले यस्तो दावी गरेका हुन् ।
समाचारडेस्कसँग कुरा गर्दै ताम्रकारले ललितपुरका उद्योगी व्यवसायीहरुलाई एक ढिक्का बनाउँदै संघलाई नयाँ गति र उचाई दिन सबल नेतृत्वको आवश्यकता पर्ने र यस्तो नेतृत्व दिन आफु सक्षम रहेको बताए ।
‘संघको क्षमता धेरै छ र गर्न बाँकि कामहरु पनि धेरै छन् । ललितपुरका उद्योगी व्यवसायीहरुको समस्या र मागको सुनुवाई गर्दै अघि बढ्नको लागि मैले यसपालि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको छु’ ताम्रकारले भने ।
आउँदो असोजको १९ र २० गते ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारण सभा सम्पन्न हुन गइरहेको छ । संघको नयाँ नेतृत्वको लागि ताम्रकारले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
संघमा विगतको अनुभव, ताम्रकार समाजको अध्यक्ष पदमा रहेर गरेका कामको अनुभव आदिको आधारमा आफुले संघलाई नयाँ गति दिन सक्ने दावी ताम्रकारले गरे ।
संघमा आफुले नेतृत्व लिइसकेपछि ललितपुरको हस्ताकला क्षेत्र, होमस्टेको प्रवध्र्दनको साथमा स्थानीय उत्पादनलाई विश्व बजारसम्म लिएर जान पनि आफुले काम गर्ने ताम्रकारले बताए ।
वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुर नगरीलाई हस्तकला नगरी घोषणा गरिसकेको अवस्थामा यस गरिमालाई अझ उच्च बनाउन पनि आफुले काम गर्ने ताम्रकारले बताए ।
‘वर्ल्ड क्राफ्ट काउन्सीलको ब्रान्डलाई सदुपयोग गरेर ललितपुरको हस्तकलालाई विश्व बजारमा पुर्याउन सकिने क्षमता हामीसँग रहेको छ । यसलाई पुरा गर्नको लागि पनि म प्रयासरत रहनेछु’ ताम्रकारको भनाई हो ।
यस अघि ताम्रकारले संघमा दुई कार्यकाल सदस्य पदमा रही र त्यसपछि प्रथम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षसम्मको पदमा रहेर संघमा योगदान दिएका छन् ।
व्यवसायीहरुको हकहितमा आवाज सम्वन्धित ठाउँमा पुर्याउन नेतृत्व तहमै रहेर जति सजिलो हुन्छ, त्यति तलका पदहरुमा नहुने अनुभवका आधारमा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी पनि ताम्रकारले दिए ।
Categorized in बिजनेस