परम्परागत पेशा संरक्षणलाई प्राथमिकता दिने ताम्रकारको भनाई
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ आषाढ ५, आइतबार

‘हाल ताम्रकार समुदायभित्र परम्परागत पेशा छोड्नेको समस्या बढ्दो छ । यसले गर्दा ताम्रकारहरुको परम्परागत पहिचान नै संकटमा परेको छ । यो समस्यालार्य हल गर्दै परम्परागत पेशालाई ब्युताउने प्रयासलाई प्राथमिकता दिनेछु ।’ यो भनाई हो ललितपुरका ताम्रकार समुदायको छाता संगठन ताम्रकार समाजका नवनिर्वाचित अध्यक्ष विनोद ताम्रकारको ।
ताम्रकार भन्नाले तामाका भाडाकुुडाहरुको साथै अन्य सरसामान बनाउने समुदाय हो । विगतमा राजाहरुले साथै आम नागरिकले स्थापना गरेका विभिन्न ताम्रपत्रहरु पनि यिनै ताम्रकारहरुले बनाए ।
यस्तै ललितपुर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्थापित तामाका गाग्री, देवीदेवताका मूर्ति समेत बनाए । वार्षिक रुपमा पितृको श्राद्ध गर्न अथवा अन्य धार्मिक संस्कारहरुमा आवश्यक पर्ने बाटा जस्तो देखिने तामाको कोल्ला पनि ताम्रकारहरुले निकै बनाए ।
अचेल युवा पुस्तामा भने परम्परागत पेशाभन्दा अन्य आधुनिक व्यावसायिक वा प्राविधिक क्षेत्रमै रुचि बढ्दो अवस्था छ । यस्तो अवस्थालाई ताम्रकार समाजका नवनिर्वाचित अध्यक्ष विनोदको समाजको मुख्य समस्याको रुपमा लिएका छन् ।
परम्परागत पेशालाई पनि आवश्यकता अनुसार विकसित आधुनिक प्रविधिसँग जोडेर अगाडी लान सकिने विचार ताम्रकार राख्छन् । ‘परम्परागत पेशालाई हेलाको दृष्टिले किन हेर्नुपर्यो ? यो निकै सम्माजकन पेशा हो । यसलाई समयसापेक्ष परिमार्जन गर्दै अगाडी लग्न सकिन्छ’ ताम्रकारले भने ।
समाजको स्वर्ण जयन्तीको अवसरमा गत २०७९ साल जेष्ठ २९ गते सम्पन्न ताम्रकार समाजको २४औं सामूहिक भेला तथा अठारौं साधारणसभाले विनोद ताम्रकारको अध्यक्षतामा अन्य १० सदस्यसहितको कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।
सोहि कार्यक्रममा नवनिर्मित ताम्रकार मंकाः छेँ समाजका जेष्ठ नागरिक काजीरत्न ताम्रकारले उद्घाटन गरेका थिए ।
अघिल्लो कार्यसमितिका अध्यक्ष रविन्द्र राज ताम्रकार पनि विनोद नेतृत्वको कार्यसमितिको निवर्तमान अध्यक्षको हैसियतले रहनेछन् ।
समाजका निवर्तमान अध्यक्ष रविन्द्रराजले ललितपुर नगरको कला, संस्कृति सम्पदाको संरक्षण र सम्बद्र्धनको लागी हिजो जस्तै भोलि पनि लागीपर्ने प्रतिबद्धता जनाए ।
अघिल्लो कार्यकालमा अपूरो रहेका कामलाई पूर्णता दिनका लागि पनि नयाँ नेतृत्वलाई सहयोग गर्नुका साथै आफु पनि लागि पर्ने रविन्द्रले बताए ।
समाजको नयाँ कार्य समिति
अध्यक्ष - विनोद ताम्रकार
निवर्तमान -अध्यक्ष रविन्द्रराज ताम्रकार
उपाध्यक्ष - शम्भु गोविन्द ताम्रकार
महासचिव -दिपेश ताम्रकार
कोषाध्यक्ष - विमल ताम्रकार
उप महासचिव - विजय ताम्रकार
सह कोषाध्यक्ष - मनोज ताम्रकार
सदस्य - प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार, सजेश ताम्रकार, निता ताम्रकार
मनोनित सदस्य - रसन्त लाल ताम्रकार
Categorized in समाज