तकती अजिमाको सत्तल खाली गराउन गुथियारहरु पुरातत्वमा
SamacharDesk – राम डंगोल | २०८० आश्विन ५, शुक्रबार

करिब १६ सय वर्ष पुरानो टंकेश्वरस्थिति नीलबाराही (तकती अजिमा)को सतल नीलबाराही माविले छोड्न नमानेपछि सम्बन्धित गुथियार तथा स्थानीयहरुले आज उजुरी दिएका छन् ।
नीलबाराही (तकती अजिमा)का गुथियार तथा स्थानीयहरुले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, वडा १३ लगायतका कार्यालयहरुमा गई विद्यालयलले कब्जा गरिराखेको ऐतिहासिक तथा सांस्कृतिक सतलहरु खाली गरिदिन आग्रह गरेका छन् ।
गुथियारहरुले बुझाएको पत्रमा भनिएकोछ, मन्दिर परिसरमा ३ वटा सत्तल रहेको छ । उक्त सत्तल धार्मिक, सांस्कृतिक प्रयोजनार्थ निर्माण गरिएको भन्ने तथ्य उक्त सत्तलमा रहेको नेपाल सम्वत ९०२ को शिलापत्रबाट पनि पुष्टि हुन्छ ।
उक्त मन्दिर परिसरमा नील बराही (तकती अजिमा) मन्दिरका गुथीयार तथा दर्शनार्थीहरुका लागि धार्मिक र सांस्कृतिक प्रयोजनका लागि निर्माण भएको उपरोक्त ३ वटा सत्तल मध्ये अहिले एक वटा सत्तल निलबाराही गुथीले संचालन गरिरहेको छ ।
अर्काे दोस्रो सत्तलको छिडिं तल्लामा यस निलवाराही गुथीले चलाइरहेको छ भने माथिल्लो तल्लामा विद्यालयका विभिन्न सरसामानहरु राखिएको छ । तेस्रो सत्तल पुरै विद्यालयले क्यान्टिन भाडामा लगाई संचालन गरिरहेका छन् ।
उक्त विद्यालयका सरसामान र क्यान्टिन हटाउनका लागि बारम्बार अनुरोध गर्दा पनि बेवास्ता गरिरहेको छ । पहिले विद्यालयको क्यान्टिन विद्यालय भवनभित्रै नै थियो ।
२०७२ सालको महाभुकम्पपछि विद्यालयमा क्षति भई समस्या परेको भनी गुथीलाई अनुरोध गरेकाले गुथीले केही समयको लागि मात्र सत्तल चलाउन दिएको हो । अहिले विद्यालयको पुनर्निर्माण कार्य समेत सम्पन्न भइसकेको छ तर विद्यालयले गुथीको सत्तल नछाडि कब्जा गरी स्थायी रुपले नै चलाइरहन खोजेको ठहर गुथियारहरुको छ ।
पत्र बुझ्दै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले यथासक्य छिट्टो सम्बन्धित निकायहरुमा पत्राचार गरी पुरातात्विक तथा सांस्कृतिक महत्व भएको धरोहरहरु बचाइराख्न त्यस स्थलको अध्ययन निरीक्षण गरी तत्काल आवश्यक कदम चाल्ने बताउनुभयो ।
पुरातात्विक महत्व भएको सत्तलहरु बचाइराख्न पुरातत्व विभाग सधैँ गुथीयारहरुको साथ र सहयोग रहने बचन दिनुभयो । नीलबाराही माविले उक्त सत्तल भाडा लिएर क्यान्टिन सञ्चालन गर्दा सत्तलभित्र रहेको ऐतिहासिक शिलापत्रमा समेत क्षति पुगेको देखिन्छ ।
साथै विद्यालयले भ¥याङ राख्न असहज भयो भनी हटाइएको नेवाः समुदायको ऐतिहासिक सांस्कृतिक महत्वका करिब एकदर्जन कुलदेवता (दिःगु द्यः) समेत सम्बन्धित गुथियारहरुलाई कुनै सूचना नदिई, कुनै जानकारी नदिई विद्यालय प्रशासनले राखिएको स्थानबाट पन्छाउने हटाउने जस्ता कानूनले निषेध गरेको अवान्छिन कार्य गरेको छ ।
तर स्थानीय, गुथियार तथा कुलदेवताका खलकहरुको चर्काे विरोधपछि पुनः सोही स्थानमा पुनःस्थापना गरेको छ । पुनःस्थापना गर्दा पनि कुनै सूचना, जानकारी नदिईकन सयौं वर्ष पुरानो कुलदेवतालाई अनाधिकृत रुपमा गिट्टि, सिमेण्ट, बालुवाको प्रयोग गरी पुनःस्थापना गरेकोमा उनीहरुले विरोध गरेका छन् ।
उनीहरुका अनुसार धार्मिक सांस्कृतिक, पुरातात्विक महत्व भएको सयौं वर्ष पुरानो कुलदेवतालाई पुनःस्थापना गर्न पहिलाकै स्वरुपमा स्थापना गर्नुपर्ने तथा क्षमा पूजा गरेर मात्र स्थापना गर्नुपर्नेमा विद्यालयले कुनै धार्मिक आस्था नै नबुझिकन ज्यादती गरेको उनीहरुको आरोप छ ।
Categorized in समाज