थायपा आजु शाक्य महास्थबीर पदबाट सम्मानित
SamacharDesk – बिराज | २०७९ कार्तिक ६, आइतबार

शाक्य परिवारको दश वटा महाविहारको मू थकालि विकमाःबहाःका थायपा आजु श्रद्धेय मोतिरत्न शाक्यलाई दशवटा महाविहार संघको महास्थवीर पदबाट विभूषित गरिएको छ ।
शाक्य महाविहार संघको सातौं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शाक्यलाई सम्मान गरिएको हो ।
सम्मानको क्रममा शाक्य महाविहार संघका अध्यक्ष शुभकाजी शाक्यले थायपा टोपी लगाइदिनुका साथै दोसल्ला ओढाइ दिएका थिए । नेपाल सम्बत न्हूदँ राष्ट्रिय समारोह समिति ११४३ का अध्यक्ष बौद्ध विद्धान प्रा.डा. नरेशमान बज्राचार्यले सम्मान पत्र प्रदान गरे ।
सोही कार्यक्रममा ‘शाक्यवंश व झिगू शाक्य महाविहारया संक्षिप्त इतिहास’ (शाक्यवंश र दश शाक्य महाविहारको संक्षिप्त इतिहास) पुस्तक विमोचन गरिएको थियो । बौद्ध विद्धान प्रा.डा. बज्राचाय, पूर्वमन्त्री डा. केशव मान शाक्य, पुर्व सांसद शोभा शाक्य, र संघका अध्यक्ष शाक्य, रोशन शाक्य लगायतका सामूहिक रुपमा विमोचन गरेका थिए ।
मन्तव्यको क्रममा बौद्ध विद्वान बज्राचार्यले लुम्बिनीमा बनाइएको नेपाली र बज्रयान बिहारको विशेषताको बारेमा प्रकाश पारे ।
विमोचन गरिएको पुस्तकको लेखन र सम्पादन संघका महासचिव संघरत्न शाक्यको रहेको छ । विमोचित पुस्तकलाई लिएर प्रा. तिर्थरत्न शाक्यले समीक्षात्मक मन्तब्य राखेका थिए ।
बौद्ध विद्धान एवम् पूर्वमन्त्री डा. केशवमान शाक्य, पूर्व प्रदेश सांसद शोभा शाक्यलगायतले शाक्य वंशको ईतिहास, पहिचान आदिको विषयमा आआफ्ना विचार राखेका थिए । त्यस्तै संघका अध्यक्ष शाक्य, उपाध्यक्ष अमिर रत्न शाक्यले संघको गतिविधि, उद्देश्य आदि बारे जानकारी राखेका थिए ।
Categorized in समाज