arin enterprises

वसन्तपुरमा चीर ठड्याइयो, होलीको आगमन

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २६, बिहिबार

वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

फागुन शुक्ल अष्टमीका दिन आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ । तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुने बताइन्छ ।

वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ  वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली तथा पहाडी जिल्लामा र ४ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

 

Categorized in संस्कृति