arin enterprises

धमाधम संक्रमित निको हुँदै

SamacharDesk – विकाश | २०७७ आषाढ २३, मंगलबार

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको दर घट्दो छ भने निको हुनेको दर बढ्दै गइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा ४६.३८ प्रतिशत संक्रमितले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् । 

आज थप ६ सय ६८ जनाले संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । 

योसँगै देशैभर कोरोना संक्रमण निको हुनेको कुल संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

गत असार १९ गते शुक्रबारसम्म निको हुनेको दर ४०.२५ प्रतिशत थियो । ५ दिनमा यो दर बढेर ४६.३८ प्रतिशत पुगेको हो । हिजोसम्म यो दर ४२.६६ प्रतिशतमा थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले देशमा ७७ वटै जिल्लामा संक्रमण फैलिसकेकोमा हाल ४ वटा जिल्ला संक्रमण मुक्त भएको पनि जनाएको छ ।

प्रदेश १ मा तेर्हथुम, भोजपुर सोलुखुम्बु अनि कर्णाली प्रदेशमा कर्णालीको हुम्ला हाल कोरोना मुक्त भइसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी संक्रमणको दर पनि घट्दै गएको छ । गत १९ गते ७ सय ४० जना नयाँ संक्रमित थपिएका थिए । १९ गते संक्रमणको दर १६.५ प्रतिशत थियो । 

यो दर घट्र आएर हिजो एक सय ८० जना थप हुँदा ३.८ प्रतिशतको दरले संक्रमित बढेको देखिएको थियो भने आज २ सय ४ जना थपिएर यो दर ३.३ प्रतिशतमा झरेको छ ।

आइसोलेसनमा उपचाररत संक्रमितको संख्या पनि धमाधम घट्दै गएको छ । १९ गते ९ हजार ८४ जना संक्रमित आइसोलेसनमा उपचाररत थिए भने आजसम्मा ८ हजार ६ सय ३४ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

अहिलेको तथ्याङ्कको आधारमा नेपालमा संक्रमण नियन्त्रणमा आउँदै गरेको देखिएको छ भने अर्कोतिर काठमाडौं उपत्यकामा भने दिनहुँ संक्रमण बढ्दो छ । विज्ञहरुले समेत काठमाडौं उपत्यकामा संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गरिरहेका छन् ।

Categorized in समाज