थ्रेड्सले पायो पाँच दिनमै १० करोड प्रयोगकर्ता
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २५, सोमबार
इन्स्टाग्रामको नयाँ एप थ्रेड्सले १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । सञ्चार माध्यम भर्जले एक रिपोर्ट सार्वजनिक गर्दै थ्रेड्समा १० करोड बढी प्रयोगकर्ता पुगेको बताएको हो ।
यसअघि च्याटजीपीटीले दुई महिना लगाएर राखेको रेकर्ड थ्रेड्सले पाँच दिनमै ब्रेक गरेको हो । थ्रेड्स सार्वजनिक भएको पहिलो दुई घण्टामै २० लाख बढी प्रयोगकर्ताले साइनअप गरिसकेका थिए ।
त्यही दिन सात घण्टामा ५० लाख, त्यसपछि एक करोड, तीन करोड, सात करोड हुँदै पाँचौं दिनमा आइपुग्दा यसमा १० करोड बढी प्रयोगकर्ताले साइनअप गरेका छन् ।
प्रयोगकर्ताको संख्या अनपेक्षित रूपमा बढ्न थालेपछि शुक्रबार एक थ्रेड्स सार्वजनिक गर्दै मेटाका सीईओ मार्क जुकरबर्गले प्रयोगकर्ताको संख्या अपेक्षाभन्दा बढी आएको भन्दै उत्सुकता प्रकट गरेका थिए ।
प्रयोगकर्ताले साइनअप मात्र नभइ सक्रिय रूपमा पोस्ट पनि शेयर गर्न थालेका छन् ।
इन्स्टाग्रामका प्रमुख आदम मोसेरीका अनुसार मेटाले थ्रेड्स ट्वीटर विस्थापित गर्ने उद्देश्यल नभई मानिसहरूले कुराकानी गरेको शैलीमा आफ्ना कुराहरू सामाजिक सञ्जालमा शेयर गरुन् भन्ने उद्देश्यले थ्रेड्स ल्याएको बताए ।
इन्स्टाग्राम अकाउन्टबाट सोझै थ्रेड्समा लगइन गर्न सकिने भएकाले तीब्र गतिमा प्रयोगकर्ताको संख्या बढेको विश्लेषकले बताएका छन् ।
Categorized in विज्ञान-प्रविधी