arin enterprises

अवैध विदेशी मुद्रासहित तीन जना पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपोर्टर | २०८० चैत्र १५, बिहिबार

अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो ईण्डिगो एयरलाईन्सको उडानबाट काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेको अवस्थामा अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्वाङ पाल्मु लामा रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्याण्ड ब्यागमा लुकाएर लग्न लागेको अवस्थामा विभिन्न देशका मुद्रासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट विभिन्न दरका गरी जम्मा २७ हजार ४२८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका ११० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने प्रहरीले बताएको छ ।

Categorized in अपराध