arin enterprises

कामपाको अनुदानमा पशुपतिमा तीन ओटा शवदाह यन्त्र निर्माण हुँदै

SamacharDesk – बिकाश | २०७७ आश्विन २६, सोमबार

काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । 

कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाको करीब १५ करोेडको आर्थिक अनुदानमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित पशुपतिमा एउटा शवदाह गृहको निर्माण हुने जानकारी दिनुभयो । 

केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्य अघि बढ्ने शाक्यको भनाई थियो । 

थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नुपर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको शाक्यले बताउनुभयो । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौँ महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । 

पछिल्लो समय शवको चाप बढिरहेको अवस्थामा थप शवदाह यन्त्र निर्माण गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको सदस्य सचिव ढकालको भनाई थियो । 

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले पनि कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाई भएको भन्दै अब केही दिन भित्रमै सम्झौता गरी प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । 

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

Categorized in स्थानीय