तीन जना पत्रकार सम्मानित
SamacharDesk – बिकाश | २०७७ कार्तिक ३०, आइतबार

बन्द रहेको पायाः (खड्ग) जात्रा र नवदुर्गा गथु प्याखं सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकार आज ललितपुरमा सम्मानित भएका छन् ।
यल सांस्कृतिक पर्व संरक्षण समितिले आज एक समारोहको आयोजना गरी पत्रकारत्रय सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्यलाई सम्मान गरिएको हो । संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका समितिका संयोजक कृष्णलाल महर्जनले पत्रकारत्रयलाई खाढा ओढाउनुभयो । वाग्मती प्रदेश सासंद् शोभा शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
दशैंको अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायाः जात्रा र गथु प्याखं पुनः सञ्चालनका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेकोमा पत्रकारत्रयलाई सम्मान गरिएको समितिका संयोजक कृष्णलाल महर्जनले बताउनुभयो ।
लिच्छवीकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महत्वको पायाः जात्रा २३ वर्षदेखि रोकिएको थियो । त्यसैगरी ठेचोको नवदुर्गा नाच विजया दशमीको दिन पट्कोमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि रोकिएको थियो ।
२०७५ सालको दशैताकादेखि पायाः जात्रा पुनः सञ्चालनमा आएको थियो ।
नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्रमार्फत निरन्तर पैरवीसँगै तीन जना पत्रकारले शुरूमा संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।
सोही कार्यक्रममा पत्रकार प्रशान्त मालीबाट लिखित खड्ग पायः जात्र नामक पुस्तकको लोकार्पण पनि गरिएको थियो ।
सो पुस्तक नाचको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्ष र नाच संञ्चालनका लागि भएका योजनाबद्ध भूमिका र प्रयासको दस्तावेज रहेको लेखक मालीले बताउनुभयो ।
सो अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेको हुनाले बन्द भएको अमूर्त संस्कृति सञ्चालन सम्भव भएको बताउनुभयो ।
महानगरपालिका प्रमुख महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले संस्कृति संरक्षणका लागि सबैको सामूहिक प्रयास प्रभावकारी रहने नाच पुनः संञ्चालनले प्रमाणित गरेको धारणा राख्नुभयो ।
समारोहमा विभिन्न गुठीका गुठीयार, बाजंखलः, जातीय समाजका प्रतिनिधि र उद्यमी व्यवसायी अजरमान जोशी लगायतलाई सम्मान गरिएको थियो ।
Categorized in समाज