arin enterprises

रातको समयमा सुन पसलमा चोरी गर्नेहरु पक्राउ

SamacharDesk – विकाश | २०७७ जेठ २०, मंगलबार

कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपालमा लकडाउन जारी रहँदा यहाँ चोरी र लुटपाटका घटनाहरु बढ्न थालेको देखिन्छ । यस्तो अवस्थामा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले पनि सक्रियता बढाएको छ ।

यसैक्रममा गत वैसाख ६ गते एक सुन पसलबाट चोरी गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न साथै चोरी भएको सामान खरिद गर्ने समेत गरी ३ जनालाई चोरिएको सामान सहित पक्राउ गरेको हो  ।

गत वैसाख ६ गते रातीको समयमा काठमाडौंका सरकारीधारास्थित नोर सुनचाँदी पसलबाट उनीहरुले अन्दाजी २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले राती पसलको मूल ढोका नै फोडी भित्र रहेका बिभिन्न सुन तथा चाँदिका गरगहना समेत चोरेर लगेको थिए ।

चोरीमा संलग्न रहेका कास्की पोखराका हाल काठमाडौं गोंगबुँ बस्ने मिलन तामाङ र चोरी भएको सामान खरिद गर्ने नुवाकोटका हाल ठमेलमा बस्ने प्रेम तामाङ र भारत मोतिहारीका हाल ठमेल बस्ने ऋषि मुनि कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट सुनको मंगलसुत्र, चाँदीको पाउजु, बच्चाको चाँदीको कल्ली, चाँदीको प्लेट, चाँदीको ब्रासलेट, चाँदीको सिक्री, चाँदीको लकेट लगायत विभिन्न गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी बृत्त लैनचौर पठाईएको छ ।

Categorized in अपराध