ललितपुरकी कुमारीको आसन फेरीयो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३०, बिहिबार

ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ । दैनिक पुजाको लागि जीवित देवी कुमारी बिराजमान हुने आसन जीर्ण हुँदै गएकोले फेरिएको हो ।
रत्नाकर महाविहारमा विहारका आजुहरुबाट बौद्ध पराम्परा अनुसार क्षमा पुजा गरी नयाँ आसन कुमारीलाई हस्तान्तरण गरिएको छ ।
हालको सुन र चाँदी लेपन गरिएको कलात्मक आसन वरिष्ठ कलाकार प्रचण्ड शाक्यले तयार गर्नुभएको हो ।
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको सहयोगमा कुमारीको नयाँ आसन तयार गरिएको हो ।
‘कुमारीको आसन जीर्ण भएको खबर पाएपछि वडाध्यक्ष निर्मल रत्न शाक्यले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा आसन जीर्णोद्वारका लागि ५ लाख रूपैयाँ छुट्याउन भएको थियो’ वडाको सदस्य शुप्रभा शाक्यले भन्नुभयो ।
पुरानो आसन हर्खराज बज्राचार्य र उहाँका परिवारले नेपाल संवत् १०६१ मा कुमारीलाई दिनु भएको थियो ।
नयाँ आसनमा हालकी कुमारी निहिरा बज्राचार्य बिराजमान हुनेछिन् ।
‘पहिला कुमारी बस्ने आसन जीर्ण थियो कुमारी बस्न पनि अप्ठ्यारो हुन्थ्यो र अब नयाँ आसनमा कुमारी देवी आरामले र सहज रूपमा विराजमान हुनेछिन्’ वर्तमान कुमारी निहिराका पिता निरोज बज्राचार्यले भन्नुभयो ।
Categorized in संस्कृति