arin enterprises

बिहिबार देखिने सूर्यग्रहणको सुतक नेपालमा नलाग्ने

SamacharDesk – समाचारडेस्क | २०८० बैशाख ६, बुधबार

आउँदो मातृ औंशीको दिनको सूर्य ग्रहणले नेपालमा सुतक नलाग्ने विज्ञहरुले बताएका छन् ।

आउँदो २०८० साल वैशाख ७ गते अर्थात मातृऔंशीको  दिन लाग्ने सूर्यग्रहण नेपालमा नदेखिने भएकोले यहाँ केही बार्नु नपर्ने विज्ञहरुको भनाई हो ।

भक्तपुर चाँगुस्थित चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले नेपालमा नदेखिने भएकोले बिहिबारको ग्रहणमा यहाँ सुतक बार्न नपर्ने बताए ।

‘ यो २०८० सालको मातातिर्थ औंशी  (२०८० वैशाख कृष्ण औंशी , वैशाख ७ गते) सूर्य ग्रहण छ भनी व्यापक हल्ला भएकाले त्यो ग्रहण नेपालबाट नदेखिने हुँदा हामीले बार्नु नपर्ने अनुरोध गर्दछु । कुनै पनि पात्रोले त्यो दिन ग्रहण छ भनेको पनि छैन’ राजोपाध्यायले सामाजिक संजालको आफ्नो भित्तामा लेखेका छन् ।

नेप क्याल लगायतका केही एपमा बिहिबार सूर्य ग्रहण भनी उल्लेख गरीएको छ । जसका कारणले फेसबुक, युट्युब लगायतका समाजिक संजालहरुमा पनि भोलि बिहिबार सूर्य ग्रहण भनी हल्ला भएको देखिन्छ ।

यसरी एपहरुमा उल्लेख गरिएको र सामाजिक संजालमा हल्ला भएको अवस्थामा अहिले जनमानसमा भने अन्यौलको स्थिती देखिएको छ ।

यस दिन लाग्ने ग्रहण अष्ट्रेलिया, इन्डोनेसिया र आसपासका देशहरुबाट उक्त ग्रहण देखिने ज्योतिष केशव मंगल जोशीले बताए । ‘आधिकारीक पात्रो कुनैले पनि भोलि सूर्यग्रहण भनेको छैन । अष्ट्रेलिया, इन्डोनेसियातिर सूर्यग्रहण हुँदैमा नेपालमा नदेखिने ग्रहण हामीले बार्नुपदैन’ ज्योतिष जोशीले बताए ।

नेपाल ज्योतिष परिषद् ललितपुर जिल्लाकी अध्यक्ष शुभद्रिका शर्माले वैशाख ७ को साथै आउँदो असोज २७ र चैत २६ गतेको सूर्यग्रहण पनि नेपालबाट नदेखिने भएकोले त्यो बेलाको ग्रहणको सुतक पनि बार्न नपर्ने बताएकी छन् । कार्तिक ११ गतेको चन्द्रग्रहण मात्र नेपालमा देखिने भएकोले सुतक लाग्ने शर्माले बताइन् ।

Categorized in समाज