arin enterprises

काठमाडौँ महानगरपालिकाको तिहार लक्षित अनुगमन

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ कार्तिक ८, सोमबार

काठमाडौँ महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले आज चावहिलका २ वटा मिठाइ पसललाई जरिवाना तिराएको छ ।

अनुगमनको क्रममा गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको थियो ।

दर्ता अनुमति नलिई, दर्ता भएकोमा पनि नविकरण नगरी कारोवार र सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ती पसललाई जरिवाना गराइएको हो ।

ती पसलहरुमा स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु विक्री गरेको, अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ् गर्ने गरिएको भेटिएको कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ वटा प्याकेट जफत गरिएको छ । त्यस्तै गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत गरिएको छ ।

अनुगमनकै क्रममा सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करीव ५ लिटर खान अयोग्य तेल नष्ट गरिएको छ भने म्याद गुज्रिएको सोन पापडि ९ प्याकेट, मुग दाल ७ प्याकेट, विकिनी पञ्जावी तड्का ४ प्याकेट, विकिनी भुजिया ४ प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरिएको छ ।

अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर र आइआर थर्मोमिटरको प्रयोग गरेर फ्रिज र तेलको तापक्रम परीक्षण गर्नुभएको थियो ।

महानगरले नियमनकारी कार्यालयका प्रतिनिधिहरुलाई सहभागी गराएर एकीकृत अनुगमन गर्ने योजनाअनुरुप आजदेखि तिहारलक्षित अनुगमन थालेको हो ।

Categorized in स्थानीय