arin enterprises

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रीट

SamacharDesk | २०८० मङ्सिर १, शुक्रबार

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन् ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात वटा रिट पुगिसकेको जानकारी दिनुभयो । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको उहाँले बताउनुभयो ।

उता, टिकटक कम्पनीले नेपाली अधिकारीहरुसँग सकारात्मक रुपमा छलफल भईरहेको बेला टिकटक प्रतिबन्ध गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

नेपालमा प्रतिबन्धपछि टिकटकको पब्लिक पोलिसी र गभर्मेन्ट रिलेसन हेर्ने दक्षिण एसिया प्रमुख फर्डोउस मोट्टाकिनले असन्तुष्टि जनाउँदै नेपाल सरकारलाई पत्र पठाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई पठाएको पत्रमा नेपालको नियम कानूनअनुसार अघि बढ्न तयार रहेको भन्दा भन्दै मन्त्रिपरिषद्को निर्णयबाट किन प्रतिबन्ध लगाइयो ? भन्ने प्रश्न गरिएको छ ।

सात बूँदे पत्रमा टिकटकका प्रतिनिधिले नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको बेला प्रतिबन्ध गरिएको पनि उल्लेख गरिएको छ ।

यता टिकटिक प्रयोगकर्ताहरु भने सरकारले बन्द गरे पनि सर्वसाधारणले विभिन्न वैकल्पिक छिद्रहरु प्रयोग गरी टिकटक चलाउन थालेका छन् ।

टिकटक चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप सर्वाधिक डाउनलोड भएको पाइएको छ । बिहीबार अपरान्हसम्म गुगल प्ले स्टोरबाट भीपीएन एपको डाउनलोड शीर्ष स्थानमा रहेको छ ।

त्यसमा पनि सुपर भीपीएन एप सबैभन्दा धेरैपटक डाउनलोड भएको छ । यसैगरी वाइफाइको डीएनएस परिवर्तन गरेर टिकटक चलाउनेको संख्या पनि ह्वात्तै बढेको पाइएको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS dahain 2081