भारतले आज चन्द्रमातर्फ रकेट प्रक्षेपण गर्ने
SamacharDesk | २०८० आषाढ २९, शुक्रबार

भारतले शुक्रबार विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ल्यान्डर, रोभर र अर्विटर सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार प्रक्षेपण गर्ने सम्पूर्ण तयारी पूरा भएको भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको हो ।
आन्द्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गरिने यान चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गराउने लक्ष्य राखिएको छ ।
चन्द्रमाको दक्षिण ध्रुव निकै खतरनाक मानिएको छ । ठूल्ठूला खाडल र भीरहरू रहेको तथा त्यो भागमा अहिलेसम्म सूर्यको प्रकाश समेत नपरेको विश्वास गरिएको छ ।अहिलेसम्म चन्द्रमाको उक्त भागको नक्सांकन समेत भएको छैन । त्यहाँको तापक्रम माइनस २ सय ३ डिग्री सेल्सियस रहेको अनुमान गरिएको छ ।
यदि चन्द्रयान सफलतापूर्वक गन्तव्यमा पुगे चन्द्रमाको दक्षिण भागमा यान पुर्याउने भारत पहिलो देश बन्ने छ ।
यस्तो परिस्थितिमा पृथ्वीबाट पठाइने यस यानले बोकेका उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुनेछ ।
आठ करोड डलरको लागतमा तयार पारिएको यो यानमा चन्द्रयान–२ मा भन्दा निकै सुधार गरिएको इसरोका अध्यक्ष एस सोमनाथले बताएका छन् ।
भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमा चन्द्रयान–१ पठाएको थियो । यस्तै चन्द्रयान–२ ले चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय