arin enterprises

माघ १ गते, देशैभर माघे संक्रािन्त मनाईँदै

SamacharDesk – बिराज | २०७७ माघ १, बिहिबार

आज माघ १ गते, नेपालीहरु आ–आफ्नो कुल परम्परा, सामाजिक सँस्कृति अनुसार माघे संक्रान्ति मनाउँदैछन् ।

आजको दिन माघ महिनाको संक्रान्ति भएकोलो माघे संक्रान्ति भनिएको हो भने सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिन्छ ।

त्यसैगरी नेवार समाजमा घ्यूचाकु खाने गरिने भएकोले घ्यःचाकु संल्हू पनि भनिन्छ ।

आजको दिन तिलसँग विशेष रुपमा जोडिएको भएकोले तिला संक्रान्ति पनि भनिन्छ । त्यस्तै थारुहरुले माघीको रुपमा यो पर्व मनाउँछन् ।

आजको दिनमा बिहानै नदि, पोखरी लगायतका जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने गरिन्छ ।

आजबाट सूर्य उत्तरायण शुरु हुने भएकाले रात छोटो हुन जाने मान्यता छ ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिबाट ठुलो पुण्य प्राप्त हुने जनविश्वास छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने विश्वास रहि आएको छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएको भए आजै श्राद्ध गरी तिलसहित पितृ तर्पण गर्ने गरिन्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धुमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने उल्लेख गरिएको छ ।

यस पर्वमा गुरु, पुरोहित र ब्राम्हण आ–आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्।  महिना सुनिसकेपछि यजमानहरुले गुरु, पुरोहितलाई टीका लगाई घ्यू, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् ।

आज घ्यू, चाकु, तरुल, सखरखण्ड र खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

त्यस्तै नेवार समाजमा घ्यू, चाकु राखेर भात खाने गरिन्छ भने चाकु राखेर बनाइएको तिलको लड्डु पनि खाने गरिन्छ । त्यस्तै आमाले दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै आफ्ना सन्तानलाई टाउकोमा तेल लगाइदिने गरिन्छ ।

उपत्यका नजिकैको पनौती नगरमा आजको दिनमा मकर मेला लाग्छ । यो मेला लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान गरिएको छ ।

तराई क्षेत्रमा भने माघ १ गतेबाट पाँच दिनसम्म धुमधामका साथ माघे संक्रान्ति पर्व मनाइन्छ ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

महाभारतका अनुसार भीष्मले यहि दिन इच्छा मृत्युवरण गरेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए ।

Categorized in संस्कृति