आज कोजाग्रत पुर्णिमा, बडादशैंका अन्तिम दिन
SamacharDesk – बिराज | २०७८ कार्तिक २, मंगलबार

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैंको अन्तिम दिन । दशमीको दिनमा टिका लगाउन नभ्याएका ठाउँमा टिका लगाउन जाने र जमरासहित बडादशैंको आशीर्वाद थाप्ने आज आज अन्तिम दिन हो ।
आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर वा आगम घरमा लगाइएको जमरा र कलश दशमीको दिनमा विसर्जन गर्दै शुरु हुने टिका थाप्ने क्रम कोजाग्रत पुर्णिमाको दिन सम्पन्न हुने गर्दछ ।
आजको दिनबाट दुर्गा पक्ष सम्पन्न भई लक्ष्मी पक्षको शुरुवात हुने शास्त्रीय मान्यता छ । आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं समाप्त हुन्छ ।
आज राती धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व सम्पन्न हुँदैछ । माता दुर्गाका तीनवटामध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गर्ने गरिन्छ ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आजै जमरालाई नजिकको नदी, पोखरी, तलाउलगायतका तीर्थस्थलमा लगी सेलाइन्छ ।
आज साँझ महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
नेवार समुदायमा पनि आजसम्म मात्रै नखत्या बोलाउने गरिन्छ । यद्यपि अहिलेको व्यस्त समयमा शनिबार वा अन्य कुनै दिन विदाको दिन पारेर पुर्णिमा पछि पनि नखत्या बोलाउने गरिएको छ ।
Categorized in संस्कृति