आज खण्डग्रास सूर्यग्रहण
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ ७, आइतबार

आज असार अमावशी अर्थात् औसी । आज निकै लामो खण्डग्रास सूर्यग्रहण भइरहेको छ ।
आजको सूर्यग्रहण खण्डग्रास भएतापनि अवधिको हिसाबले निकै नै लामो छ । आज ३ घन्टा ३३ मिनेटसम्म खण्डग्रास सूर्यग्रहण रहनेछ । ३ घण्टा ३३ मिनेट भनेको चानचुने होइन ।
धार्मिक मान्यता अनुसार ग्रहणको समयमा धेरै गतिविधिहरु गर्नमा निषेध छ । जसलाई उल्लिखित श्लोकहरुले अझ प्रष्ट गर्नेछ –
‘निद्राया जायते ब्याधी मुत्रेदारिद्रमाप्नुयत् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।। अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्प बधे च नरकं वज्रेत् ।।१
यसको अनुवाद यस प्रकार छ –
ग्रहणको समयमा निदाए दुःख बढ्नेछ, शौच गरे दरिद्र हुनुपर्नेछ, दिसा गरे कृमि योनिमा जन्मनुपर्नेछ, मैथुन वा सम्भोग गरे सुंगुर भई जन्मनुपर्नेछ । त्यस्तै श्रृङ्गार गरे कुष्ठरोगी हुनुपर्नेछ, भोजन गरे अधोगति हुनेछ, कतै बन्धनमा परे सर्प हुनुपर्नेछ र कसैको वध गरे नर्कमा जानुपर्नेछ ।२
यी नियमहरुबाट बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, अबोध, सुत्केरी र गर्भवतीलाई भने कुनै प्रकारले नबाँधिने शास्त्रमा उल्लेख छ ।
काठमाडौं उपत्यकाको नेवार समुदायमा द्यःला जातिले यस समयमा ‘गंकि फ्वनेगु’ भनेर ग्रहण दान लिन आउने र समुदायले यथाशक्ति चामल दान गर्ने चलन रहेको थियो ।
तर अचेल द्यःला समुदायले द्यःला जाति मागेर खाने समुदाय होइन भन्दै यसको वहिष्कार गर्न थालेका छन् ।
यतिखेरको दानले अक्षय पुण्य प्राप्तिको कामना गर्ने बिश्वास गरिएको छ ।
त्यस्तै वेद एवम् तन्त्र साधकहरु सिद्धि प्राप्तीको लागि ग्रहणकाल भरि जप गर्ने, त्यसैगरी योगिहरु प्राणायाम गर्ने गर्दछन् ।
ग्रहण पछि स्नान वा हात–पाउ, मुख धोएर पवित्रताको कामना गर्ने गर्दछन ।
यसपालिको ग्रहण मेष, सिंह, कन्या र मकर राशिका ब्यक्तिहरुका लागी शुभ फल प्रदायक रहेको पञ्चाङ्ग पात्रोले उल्लेख गरेको छ ।३
१ - पञ्चाङ्गहरुबाट प्राप्त श्लोक
२ - आभासधरानन्द राजोपाध्यायद्वारा श्लोकलाई अनुवादित गरिएको भाग
३ - विजय शर्मा राजोपाध्यायको ग्रहणबारे फेसबुकमा ७ गते राति प्रकाशित लेखबाट साभारित अंश
Categorized in संस्कृति
