सापारुको अवसरमा महानगरभित्र भोलि विदा
SamacharDesk | २०८० भाद्र १४, बिहिबार

काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार सापारुको अवसरमा काठमाडौं क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
महानगरले एक सूचना प्रकाशित गरी भोलि सापारु र रोपाईं जात्रा समेत मनाउने प्रचलन अनुसरा उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षण गर्न भाद्र १५ गते शुक्रबार दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।
विशेषगरी उपत्यका लगायत देशभरका नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तजनको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।
यो वर्ष तिथिमा घटबढ भएको कारण पंचाङ्ग समितिका अनुसार आजै जनैपूर्णिमा तथा गाइजात्रा पर्व परे पनि काठमाडौंका नेवार समुदायले भने भोलि मात्रै सापरु अर्थात् गाईजात्रा पर्व मनाउने भएका छन् भने ललितपुर र भक्तपुरमा आजै गाईजात्रा पर्व मनाइरहेका छन् ।
महानगरले काठमाडौं क्षेत्रमा भोलि मात्र सापारु पर्व मनाइने भएकोले सूचना प्रकाशित गरी भोलि सार्वजनिक विदा दिएको हो ।
