अपिहिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना
SamacharDesk – बिराज | २०८१ बैशाख २६, बुधबार

सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवर्ध्दनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ ।
नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी ) र अपिहिमाल गाउँपालिका दार्चुलाको सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र स्थापना गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, एसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सो सूचना केन्द्र तथा कोशेली घरको उद्घाटन गरे ।
सो अवसरमा अपि हिमालको म्याप समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोहराले सुदूरपश्चिमको सबैभन्दा अग्लो अपिहिमाल वेस क्याम्पसम्म जान पूर्वाधार बनिरहेको जानकारी दिँदै सूचना केन्द्र र कोशेलीघर निर्माणले यस क्षेत्रमा आउने पर्यटकलाई सूचना प्रदान गर्न र स्थानीय उत्पादन प्रवर्ध्दन गर्न सहयोग पुग्ने बताए ।
अपिहिमाल गाउँपालिकामा अपि संगै नाम्पा,कापाचुली, जेठिबहुरानी लगायतका थुपैं हिमालहरु रहेकोले यस क्षेत्रमा पर्वतीय पर्यटनको व्यापक सम्भावना रहेको समेत अध्यक्ष बोहराले बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपिहिमाल प्रर्वद्धन भएमा यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने विचार राखे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप बस्नेत, एसटिएलआरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडी, नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंह, होटल व्यवसायी सघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डे लगायतले सुदूरपश्चिममा पर्यटनको व्यापक सम्भावना रहेकोमा अपि हिमाल टेकिङले नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताए ।
यो सूचना केन्द्रले अपिहिमाल आधार शिविरसम्म ट्रेकिङ जाने पर्यटकलाई सूचना आदान प्रदान गर्ने तथा कोशली घरले स्थानीय उत्पादनलाई बिक्रीवितरण गर्न सहयोग पुग्ने दावी गरिएकाे छ ।
कैलालीको धनगढिबाट डोटी, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको गोकुलेश्वर मकरीगाढसम्म डेढ दिनको गाडी यात्रा र मकरीगाडसम्म नौपाटा, सिटी होमस्टे, धौली ओडार हुँदै पाँचौ दिनमा अपिहिमाल वेसक्यापमा पुग्न सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढि फर्कन सकिन्छ ।
सूचना केन्द्र उद्घाटनसंगै वैशाख २२ गते देखि २६ गतेसम्म पर्यटन मन्त्रालयका प्रतिनिधी, स्थानीय जनप्रतिनिधी, प्रहरी तथा पर्यटन व्यवसायीहरु सम्मिलित टोलीले अपिहिमाल बेस क्याम्पसम्मको ट्रेकिङ यात्रा सम्पन्न गरेको अपिहिमाल ५ का वडाध्यक्ष राजेन्द्र सिंह धामीले जानकारी दिए ।
चमेलीया नदीको मुहान समेत रहेको अपिहिमाल बेस क्याम्प जान काठमाण्डौबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ ।
मकरीमाडदेखि बेस क्याम्पसम्म दुई दिन पैदल यात्रा गर्नुपर्छ भने मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेस क्याम्प जान सकिन्छ ।
बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको समेत व्यवस्था गरिएको छ ।
Categorized in स्थानीय