पालिकाहरुसँग समन्वय बढाउन शाक्यको सीसीएमसीलाई आग्रह
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ ५, बुधबार

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संक्रमणको तेश्रो लहर शुरु हुँदा सीसीएमसीले स्थानीय पालिकाहरुसँग समन्वय नगरेको बताउनुभएको छ ।
कामपा वडा २३ झ्वःछेँस्थित लायकूसाःको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले यस्तो भन्नुभएको हो ।
विगतको समस्या आपसी समन्वयबाटै समाधान गरेको स्मरण गर्दै शाक्यले कोभिडको तेस्रो लहरको प्रभाव व्यवस्थापन गर्न सीसीएमसीले पालिकाहरुसँग समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।
‘कोभिड रोकथाम, नियन्त्रणका लागि काम गरिरहेका छौँ । आइसोलेसन र उपचारका लागि विगतको महामारीमा प्रयोग गरेर संक्रमण घटेपछि निष्क्रिय बनाइएका संरचनालाई तयारी अवस्थामा राखेका छौँ’ शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा महानगर प्रमुख शाक्यले लायकूसाःको उद्घाटन गर्दै संस्कार, संस्कृति, तथा सामाजिक र धार्मिक क्रियाकलापसँग जोडिएका काठमाडौँका पेशाहरु विस्थापन हुने अवस्थामा पुगेको धारणासमेत राखेका थिए ।
काठमाडौंका परम्परागत साः अर्थात मिलबाट तेल निकाल्ने काम गरीन्छ । र स्थानीय नेपालभाषामा लायकूको अर्थ दरवार भन्ने हुन्छ । यस अर्थमा यस साः अर्थात मिलको सम्वन्ध तत्कालीन दरवारसँग रहेको भन्ने बुझ्न सकिन्छ ।
वसन्तपुरकी लायकू कुमारीको घरलाई चाहिने तेल उत्पादन गर्न यो साः बनाइएको हो भन्ने गरिन्छ । त्यसैले यो साःलाई ‘कुमारी साः’ पनि भनिन्छ ।
तत्कालीन कुमारी घर, तलेजु भवानीको मन्दिरमा बालिने अखण्ड दीप र दरवारलाई समेत चाहिने तेल यहीँबाट पठाउने चलन थियो ।
कार्यक्रममा बोल्दै महानगर उपप्रमखु हरिप्रभा खड्गी श्रेष्ठले, विदेशप्रतिको मोहले सांस्कृतिक पहिचानसँग जोडिएका पेशा विस्थापित हुने चरणमा पुग्न सक्ने खतराप्रति सजग हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा कामपा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले परम्परा, संस्कृति, भाषा, गुठीगहनाको संरक्षणमा आफुहरु योजनावद्ध रुपमा काम गरिरहेको दावी गर्नुभयो ।
यस लायकूसाःको पुननिर्माणका लागि २०७६ पुस ९ गते दुप्चेश्वर निर्माण सेवालाई कार्यादेश दिइ त्यसै बर्षको फागुन २० गते पुननिर्माणका लागि जग राखिएको थियो ।
हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयनमा आएको पुननिर्माण कार्यका लागि करीव १ करोड १४ लाख रुपैयाँ खर्च भएको इञ्जिनियर अमित बज्राचार्यले जानकारी दिनुभयो । यसको लागत अनुमान करीव १ करोड ६१ लाख रुपैयाँ गरिएको थियो ।
लायकुसाः गुठीका कोषाध्यक्ष श्यामकृष्ण मानन्धरले, परम्परागत चालचलन जोगाउन समुदायलाई काठमाडौँ महानगरले साथ दिए पछि गौरव महसुस भएको धारणा राख्नुभयो ।
Categorized in स्थानीय