कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन
SamacharDesk – बिराज | २०७७ चैत्र १८, बुधबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली ‘सिएमटी’ (Corridor Management Team) परिचालन गरेको हो ।
महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा लगायतका उपत्यकाका मुख्य कोरिडोरहरुको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन भन्दै यो योजना लागु गरेको हो ।
आजदेखी करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरिएको छ ।
टोलीको पहिचानको लागी “Traffic Police - CMT” लेखिएको प्लोरोसेण्ट ज्याकेट लगाएर करिडोर सडकमा मोटरसाईकलमा निरन्तर अनुगमन गरिने बताएको छ ।
महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यबस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
‘यो टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागी छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ, मुख्य सडकमा क्युमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा ईन्धनको समेत वचत हुने अपेक्षा राखेका छौं’ एसएसपी भट्टराईले भन्नुभयो ।
टिमले बिशेष सक्रियतापुर्वक करिडोर व्यवस्थापनमा खटेर प्रभावकारी ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने विश्वास लिइएको छ ।
Categorized in समाज