arin enterprises

पर्वतारोहीलाई चिप्स जडान पोसाक

SamacharDesk | २०८० फाल्गुण २०, आइतबार

सरकारले अब सगरमाथा आरोहण गर्न जाँदा पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने आरोहीले लगाउने विशेष पोसाक (ज्याकेट) मा विद्युतीय चिप्स जडान गर्ने भएको हो ।

कुनै आरोही दुर्घटनावश वा अन्य कारणले उच्च हिमाली क्षेत्रमा हराएको खण्डमा तिनलाई सहज रूपमा खोज तथा उद्धार गर्न त्यस्तो चिप सहायक हुने विभागको भनाइ छ।

विभागका निर्देशक राकेश गुरुङले भन्नुभयो, “आरोही दुर्घटनामा पर्ने, हराउने, लेक लागेर बिरामी हुने जस्ता समस्यालाई दृष्टिगत गर्दै विभागले सबै आरोहीको पोसाकमा चिप्स जडान गर्ने तयारी गरेको हो । यसले हराएका आरोहीको ठेगानालगायतका अवस्था पत्ता लगाउन सहयोग पुग्ने छ ।”

हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणमा ब्याटरीमा निश्चित समयमा सकिने समस्या आउने हुँदा तीभन्दा चिपको उपयोग बढी उपयोगी हुने उनी ठान्छन्। हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिपबाट पत्ता लगाउन थप सहयोगी हुनसक्ने ठानिएको छ।

उहाँले विश्वका अन्य मुलुकमा पनि यस्ता अभ्यास रहेको बताउँदै चिप्स जडानले आरोहीलाई सुरक्षित बनाउने जानकारी दिनुभयो । आरोहीले एजेन्सीले प्रदान गरेको चिप्स प्रयोग गरे नगरेको बारे सगरमाथा आधार शिविरमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले निगरानी राख्ने छ ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा परीक्षण गरी गुणस्तरयुक्त यस्ता चिप्सको मूल्य १५ देखि २० अमेरिकी डलर पर्ने र त्यसको लागत आरोहणमा संलग्न एजेन्सीले बेहोर्ने गरी कार्यविधि बनाउन लागिएको छ ।

चिप उत्पादकहरूसँग अहिले सरकारले छलफल गरिरहेकाले सबभन्दा विश्वसनीय र प्रभावकारी हुने किसिमका चिप चयन गरिने बताइएको छ। हिमपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति सगरमाथा क्षेत्रमा हुने गरेको छ ।

सन् १९२२ देखि २०२० सम्मको अवधिमा सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २२० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Categorized in राष्ट्रिय