arin enterprises

टर्कीको भुकम्पमा ज्यान गुमाउनेहरु पाँच हजार नाघ्यो

SamacharDesk | २०७९ माघ २४, मंगलबार

टर्कीको भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको छ ।

सोमबार बिहान भएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म करीब पाँच हजार भन्दा बढी मृत्यु भएको तथ्यांक बाहिर आएको छ ।

टर्कीमा ११ हजार जना र सिरियामा २ हजारलाई घाइते अवस्थामा उद्धार गरिएको छ । तर मृतक संख्या कैयौं गुणा माथि पुग्ने अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले त मृतक संख्या अहिलेको भन्दा आठ गुणा बढ्ने अनुमान गरेको छ । टर्कीमा मात्रै ५ हजार ६०६ घर तथा भवनहरु भत्किएको प्रारम्भिक आँकडा युनिसेफले निकालेको छ ।

सिरियामा पनि भौतिक संरचनाहरुको क्षति उस्तै छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टेप केन्द्रविन्दु बनाएर हिजो बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

यसैबीच भुकम्पको चपेटामा परेको टर्कीका लागि विश्वका धेरै राष्ट्रले आर्थिक सहयोग गरेका छन् ।  चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

साथै चीनको रेडक्रस सोसाइटीले टर्की र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ ।

यस्तै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टर्की र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए ।

त्यस्तै भारतले भूकम्प प्रभावित टर्कीलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित थप दुई वटा भारतीय वायुसेना विमान टर्की पठाइने रक्षा अधिकारीहरूले बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका निम्ति ८५ सदस्यीय टोली टर्की पठाउने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न एक सयभन्दा बढी रुसी उद्धारकर्ता टर्की पुगेका छन् । त्यसैगरी संयुक्त राष्ट्रसंघका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्की पुगेका छन् ।

विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

Categorized in अन्तर्राष्ट्रिय