फोनमार्फत फिरौती मागी ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ
SamacharDesk | २०८० माघ २६, शुक्रबार

फोनकल तथा एसएमएसमार्फत ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ( जिप्रका) कास्कीबाट खटिएको प्रहरी टोलीले बुधवार ती व्यक्तिलाई पक्राउ गरेका हुन् ।
गत १८ माघमा पोखरामा रहेको सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदिप गैरेले आफूलाई फोन तथा एमएमएसमार्फत ज्यान मार्ने धम्की आएको उजुरी दिएको प्रहरीले जनाए ।
त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा बुधवार राति गैरेलाई धम्काउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबाट एउटा भारतीय सिमकार्ड, तीन ओटा एनसेलको सिम र ५ ओटा नमस्तेको सिम बरामद गरिएको छ । सिमबाहेक चारवटा मोबाइल, विभिन्न व्यक्तिको नाम लेखेका कागजहरु, भरुवा बन्दुकमा लाग्ने केप लगायतका सामग्री बरामद गरिएको छ ।
जिप्रका कास्कीका अनुसार युट्युबमा अध्यक्ष गैरेको भिडियो देखेपछि उनीहरुले फिरौती माग्ने योजना बनाएका थिए ।
पक्राउ परेका दुवै जना १३ माघमा सच्चाइ केन्द्रमा दुई घण्टा बसेर प्रकाशदिप गैरेको नम्बर पत्ता लगाएका थिए । त्यसपछि १८ माघमा उनीहरुले म्यासेज र फोनबाट धम्की दिएका थिए ।
उनलाई धम्की दिइसकेपछि परेको प्रभाव थाहा पाउन २० माघमा सच्चाइ केन्द्र पुगेका थिए । त्यसपछि पुनः २३ माघमा पनि उनी सच्चाइ केन्द्र पुगेको प्रहरीले जनाए ।
पक्राउ परेका दर्जी र क्षेत्रीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध