धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण ९, शुक्रबार

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ ।
महानगरपालिकाले हाडीगाउँस्थित धोबीखोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिच भागमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।
३ करोड ३७ लाख ३८ हजार लागत अनुमान गरिएको नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।
उक्त पार्क प्रस्ताव आव्हानको चरणमा पुगेको वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयो । विहार र बुद्धको मुर्तिसहितको सो पार्कमा पोखरी, पानीको फोहरा र विश्रामस्थल समेत रहने बताइएको छ । पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री समेत रहेको वडाध्यक्ष डंगोलले जानकारी दिनुभयो ।
पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था पनि गरिएको छ ।
‘नयाँ डिजाइनमा विहारको मोहोडा परिवर्तन गरी प्राचिन शैलीमा निर्माण गरिने छ,’ डंगोलले भन्नुभयो, ‘राजधानीको कोलाहलबीच शान्त वातावरण दिन सकियोस् भनेर यो पार्ककलाई नमूना बनाउने तयारी गरेका छौँ ।’
नरबुद्ध पार्कको आर्किटेक डिजाइन तयार पार्नुभएकी निर्मिता डंगोलले महानगर पार्कको भने प्रारम्भिक डिजाइन तयार भएको जानकारी दिनुभयो । महानगर पार्कको लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ ।
छलफलमा सहभागी प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने प्रष्ट पार्नुभयो ।
‘हामीले नरबुद्ध पार्कको लागि विभिन्न चरणमा र महानगरपार्कका बारेमा स्थानीयसँग प्रारम्भिक चरणको छलफल भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले यहि आर्थिक वर्षमा सार्वजनिक जग्गा र खुल्ला क्षेत्रको संरक्षण गर्दै हरियाली प्रबर्ध्दनलाई ध्यानमा राखेर ३० बढी पार्क निर्माण गर्ने लक्ष्य लिएका छौँ ।’
प्रमुख शाक्यले कतियपय योजनाहरु विवादका कारण अघि बढ्न नसकेको गुनासो गर्दै बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागत अनुसारको बजेट दिन महानगरपालिका तयार रहेको भन्दै बजेटका बारेमा चिन्ता नलिन पनि शाक्यले आग्रह गर्नुभयो ।
‘पैसा अनुसारको योजना होइन, योजना अनुसार पैसा विनियोजन गर्नुपर्छ भन्ने मान्यता अनुसार हामी अघि बढेका छौँ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि योजना अधुरो नछोड्ने, कुनै पनि काम अपूरो नछोड्ने हाम्रो नीति नै छ ।’
कतिपय अवस्थामा व्यावसायिक अभियन्ताका कारण सम्पदा निर्माण–पुर्ननिर्माणमा समस्या आउने गरेको दोहोर्याउनुभयो ।
कतिपय व्यवसायिक अभियन्ताले सञ्चारमाध्ययममा तस्बिर देखाउन र नाम लेखाउनका लागि मात्रै पनि अवरोध गर्ने गरेका कारणसमस्या हुने गरेको दावी गर्नुभयो । काठमाडौँ महानगरपालिका र त्यसमा पनि मेयरको अगुवाईमा निर्माण हुने काममा विभिन्न बाहनामा अवरोध हुने गरेको गुनासो गर्नुभयो ।
छलफलमा बोल्दै वडाध्यक्ष डंगोलले स्थानीय कला, संस्कृति, संस्कार र परम्परा तथा स्थानीयबासीको जीवनलाई जोडेर पार्क बनाइने बताउनुभयो ।
छलफलमा धारणा राख्दै महानगरको सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापाले नजिकको बस्ती र महानगरको स्वीकृत मापदण्डबमोजिम काम गर्न सके योजना कार्यान्वयन गर्न सजिलो हुने बताउनुभयो ।
रोटरी क्लव अफ बागमतीका अध्यक्ष बिजयसागर प्रधानले वडा बिकासको रचनात्मक काममा आफ्नो साथै रहने धारणा राख्नुभयो । छलफलमा पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्व प्रशासक लवप्रसाद त्रिपाटीलगायतका वरिष्ठ व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।
Categorized in स्थानीय