इन्टरपोलबाट दुई वटा प्रहरी प्रशिक्षण कार्यक्रम संचालन
SamacharDesk – बिराज | २०८० माघ २, मंगलबार

इन्टरपोल महासचिवालयबाट प्रहरीको लागि इन्टरपोल परियोजना सोटेरिया अन्तर्गत दुई वटा प्रशिक्षण कार्यक्रम संचालन भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज उक्त दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्घाटन गरे ।
दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ SOTERIA Operational Training for Border Management Officials र INTERPOL Policing Capabilities Programme-IPCD विषयक प्रशिक्षण कार्यक्रम आजबाट संचालन भएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणले इन्टरपोल उपकरण र प्रणालीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सहभागीहरूलाई सीप, ज्ञान प्रदान गर्ने विचार राखे ।
‘सीमा व्यवस्थापन अधिकारीहरूको लागि संचालित प्रशिक्षणले आपराधिक गतिविधिहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सीमा व्यवस्थापन क्षमतालाई बलियो बनाएर अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध लड्ने प्रतिबद्धतालाई अझ जोड दिनेछ’ कुँवरले भने ।
SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरु र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जनाको सहभागीता रहेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन हुने IPCP प्रशिक्षणमा नेपाल प्रहरीका २० जना अधिकृतहरु सहभागि छन् ।
कार्यक्रममा दुवै प्रशिक्षणहरूका प्रशिक्षकको रुपमा इन्टरपोल परियोजना सोटेरिया अन्तर्गतबाट ५ जना अधिकृतहरुको उपस्थिति थियो ।
प्रशिक्षण माघ ५ गतेसम्म संचालन हुनेछ ।
Categorized in राष्ट्रिय