arin enterprises

बेलायती प्रधानमन्त्री ट्रसले डेढ महिनामै राजीनामा दिए

SamacharDesk | २०७९ कार्तिक ४, शुक्रबार

यूकेकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।

गलत आर्थिक नीति अवलम्वन गरेको भन्दै शुरुवातमै आलोचनाको तारो बनेकी ट्रसले गत बिहिबार राती संसदमा अराजक हंगामा उत्पन्न भएपछि हिजो पदत्याग गर्नुभएको हो ।

बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्। ट्रसको राजीनामासंगै बेलायतमा अर्को प्रधानमन्त्रीको खोजी शुरु भईसकेको छ ।

उनले नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन् । पैँतालीस दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।

उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।

तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरु भएका थिए।

त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरि नै आक्रोशको रूप लिएको थियो। ट्रसले राजीनामा दिएसँगै बेलायतमा को प्रधानमन्त्री बन्ला भन्ने अन्यौल ब्यापक छ ।

गत महिना प्रधानमन्त्रीका लागि ट्रससंगै प्रतिष्पर्धा गरेका पूर्व अर्थमन्त्री ऋषि सुनक नै तत्काल देखिएका ब्यक्ति हुनुहुन्छ । सुनकले प्रधानमन्त्री ट्रसको आर्थिक नीतिको चर्को आलोचना गर्नुभएको थियो ।

जुन डेढ महिनामै पुष्टि पनि भएको छ । तर भारतीय मूलका सुनकलाई बेलायतको कार्यकारी प्रमुख बन्न कति सहज होला भन्ने आशंका उत्तिकै प्रबल छ ।

पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि संभावित उम्मेदवारको रुपमा हेरिएको छ । यस्तै बेन वालेस, पेनी मोर्डन्टलगायतका अनुहारहरु पनि संभावित उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ ।

सत्तारुढ कञ्जरभेटिभ पार्टीले निर्धारित समयभित्र नयाँ प्रधानमन्त्री चयन गर्न सकेन भने ताजा जनादेशका लागि निर्वाचन हुनसक्ने जनाइएको छ ।

तर अहिले नै चुनावमा जाँदा विपक्षी लेबर पार्टीले बहुमत ल्याउन सक्ने त्रासमा सत्तारुढ दल रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय