arin enterprises

राष्ट्रसंघ महासचिव गुटेरेस नेपालमा

SamacharDesk | २०८० कार्तिक १२, आइतबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको औपचारिक भ्रमणका क्रममा हिजो राती नेपाल आइपुग्नुभएको छ ।

महासचिव गुटेरेलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ ।

महासचिव गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको जानकारी आइतबार प्रतिनिधि सभामा पनि दिने तयारी छ ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि गुटेटेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोज आयोजना गर्नुभएको छ । भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ बजे गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय