arin enterprises

चाँगुमा लक्ष्मीनारायणको अनौठो पूजा आज हुँदै

SamacharDesk – बिराज | २०८१ बैशाख ११, मंगलबार

आज चैत्र पुर्णिमा । प्राय नेवार समाजमा यस पुर्णिमालाई ल्हुति पुन्हि भन्ने गरिन्छ । बालाजु बाइसधारा मेला हुने भएकोले आजको दिनलाई ल्हुति पुन्हि भनिएको हो ।

तर आजको दिनलाई सक्व पुन्हि पनि भन्ने कुरा भने थोरैलाई मात्र थाहा छ । आजै साँखुको बज्रयोगिनीलाई तल ल्याइन्छ । आजको साँखु बज्रयोगिनीलाई तल ल्याउने यस परम्परालाई स्थानीय समाजमा द्यः कुहां बिज्याकेगु भनिन्छ ।

यसको साथमा आजै चाँगुनारायणमा बिष्णुकमलाजाको अनौठो पूजा पनि हुने गर्दछ ।

चाँगुको विष्णुकमलजा, जसलाई लक्ष्मीनारायणको साथमा अर्धनारीश्वर पनि भन्ने गरिन्छ । एउटै मूर्तिमा आधा शरीर विष्णु र आधा शरीर लक्ष्मी भएको यस अर्धनारीश्वर लक्ष्मीनारायणको अनौठो पूजा आजको दिनमा हुने गर्दछ ।

प्राय देवी व देवताको पूजा भनेको मूर्तिको अगाडी बसी अगाडीबाटै पूजा गरिन्छ । तर, यो पूजा अनौठो यो कारणले छ कि यसको पूजा अगाडीबाट होइन, पछाडीबाट हुने गर्दछ ।

पछाडीबाट पूजा गरिने यस्तो परम्परा अन्त नहुने अनुमान चाँगुनारायणका भँडेल प्रजेन भँडेलको अनुमान रहेको छ ।

आज साँझमा चाँगुनारायणको मन्दिरको नैऋत्य कोण अर्थात दक्षिण र पश्चिम दिशाको कुनामा विष्णुकमलजाको मूर्ति राखी चाँगुनारायणका मूल पूजारीले पछाडीबाट अर्धनारीश्वर लक्ष्मीनारायणको पूजा गर्नेछन् ।

आजै साँखुमा बज्रयोगिनी कुहां बिज्याकेगु जात्रा हुने र बज्रयोगिनी, अर्धनारीश्वर विष्णुकमलजा मीत भएकोले आज यी दुई मीतको भेट बेलामा दुई जनाको बीचमा आउन नहुने मान्यता रहेको प्रजेन बताउँछन् ।

साँखुकी बज्रयोगिनी र चाँगुका लक्ष्मीनारायण एक आसपमा भेट हुँदा दुईको बीचमा दैवीय उर्जा पैदा हुने भएकोले पनि त्यस उर्जाको बीचमा आउन नहुने चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्याय बताउँछन् ।

‘बज्रयोगिनी र लक्ष्मीनारायण भेट हुँदा यिनकाे बीचमा केही उर्जा पैदा होला । यस्तो दैवीय उर्जा साधारण मानवले सहन नसक्ला । त्यसैले यी दुईको दैवीय उर्जाको बिचमा नबसी पछाडी बसेर पूजा गर्ने गरिएको हुन सक्छ’ मूल पूजारी राजोपाध्याय बताउँछन् ।

यस अघि आजै विहान चाँगुनारायण मन्दिर भित्र लक्ष्मीनारायणको विशेष पूजा गरिएको थियो । चाँगुनारायणको नित्य पूजा पछि लक्ष्मीनारायणको विशेष पूजा सम्पन्न गरिएको थियो ।

आज पुर्णिमा भएकोले बागमतिको जल ल्याई पूजा गर्नुपर्ने परम्परा रहेको मूल पूजारी राजोपाध्यायले जानकारी दिए ।

आजको जात्राको क्रममा चाँगुनारायण मन्दिरको नैऋत्य कोणको पेटीमा गरिने यो अनौठो पूजा पछि लक्ष्मीनारायणको मूर्तिलाई मूल पूजारीले बोकी मन्दिरको तल पुर्वतिर रहेको ढुङ्गेधारामा लगिन्छ ।

कर्माचार्यले धुपौरो र अन्य एक जनाले बत्ती समाई बाजागाजासहित मूल पूजारीले लक्ष्मीनारायणलाई आफ्नो हातमा बोकी ढुङ्गेधारातिर लगी त्यस ढुङ्गेधाराको माथि रहेको एउटा ढुङ्गामा बिसाइन्छ ।

त्यसपछि सर्वसाधारणको लागि लक्ष्मीनारायणको दर्शन र पूजा खुल्ला हुनेछ । सर्वसाधारणले त्यो बेलामा भने देवतालाई अगाडीबाटै पूजा गर्ने गर्छन् ।

पछि बेलुकी देवतालाई फेरी मूल पूजारीले नै बोकी माथि मन्दिर ल्याई चाँगुनारायण मन्दिरको तीन परिक्रमा गरी मूर्तिलाई मन्दिर भित्र लगिन्छ । बेलुकीको आरती पछि आजको अर्धनारीश्वर लक्ष्मीनारायणको पूजा सम्पन्न हुनेछ ।

Categorized in संस्कृति