युनाईटेडको हार, बायर्नको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १७, बुधबार

च्याम्पियन्स लिग फुटबलको समूह एको खेलमा इंग्लीस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ ।
मंगलबार १० खेलाडीमा सिमित युनाईटेड घरमै गलातासारेसँग ३–२ ले पराजित भएको हो ।
घरेलु टोलीको लागि युवा खेलाडी रासमस होजलुन्डले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
खेलको १७ औं मिनेटमा होजलुन्डको गोलमा घरेलु टोली युनाईटेडले खेलमा अग्रता लिएको थियो । बिल्फ्रेड जहाले २३ औं मिनेटमा पाहुना टोली गलातासारेलाई बराबरीमा ल्याएका थिए ।
उनै होजलुन्डले ६७ औं मिनेटमा पुन युनाईटेडलाई खेलमा अग्रता दिलाएका थिए । केरेम एक्टुरकोग्लुले पाहुना टोलीका लागि ७१ औं मिनेटमा अर्को बराबरी गोल गरे ।
डिबक्सभित्र फल गरेपछि क्यासमिरोले रातो कार्ड खादै मैदान बाहिरिएका थिए । प्राप्त पेनाल्टीमा मौरो इकार्डीले गोल गर्न असफल रहे ।
तर खेल सकिन ९ मिनेट बाँकी छदाँ उनै इकार्डीले गोल गर्दै पाहुना टोलीलाई शानदार जित दिलाए ।
च्याम्पियन्स लिगको समूह एमा दुवै खेलमा पराजित युनाईटेड तालिकाको पुछारमा छ ।
यस्तै गएराति नै भएको समुह ए को अर्को खेलमा जर्मन बायर्न म्युनिख विजयी भएको छ ।
मंगलबार दोस्रो जित निकाल्ने क्रममा बायर्नले घरेलु टोली कोपनहेगनलाई २–१ ले हरायो ।
सुरुआतमा अग्रता घरेलु टोली कोपनहेगनले ५५ औं मिनेटमा लुकास लेरागरको गोलमा लिएको थियो ।
लगत्तै बायर्नका जामल मुसियालाले ६७ औ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । ८३ औ मिनेटमा माथिस तेलले गोल गर्दै बायर्नलाई जित दिलाएका थिए ।
बायर्न लगातार दुई खेलमा जित निकाल्दै ६ अंक सहित शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स