दिवंगत आत्माको चीर शान्तिको कामना स्वरुप उपाकु पर्व मनाईंदै
SamacharDesk – राम डंगोल | २०८१ भाद्र ३०, आइतबार
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ ।
इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोको बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी बौद्ध स्तोत्र) पाठ गरेर नगर परिक्रमा गर्ने चलन छ ।
नेपाल भाषामा उपाकूको अर्थ सिमाना हो । यस दिन दिवंगत परिवारको आत्माको चिरशान्तिको कामना गर्दै नगरको सिमाना परिक्रमा गर्ने प्रचलन छ ।
उपाकु पर्वको लागि मरुटोल, मरुगणेश, भगवतीवारी, चसाँन्दोल, दमाइटोल, कंगः अजिमा, कँयता हिति, सुन्तागल्ली, न्यतँतुछेँ ९नरदेवी०, रक्तकाली, बुरांख्यः भुरुंखेल, इखापुखू, क्षेत्रपाटी हुँदै स्वांछपु गणेद्यः, थँहिति, ज्याथा छुस्या बहाल, असन–कमलाछि, भोटाहिति, महाबौद्ध, भोसिको टोल, न्यूरोड हुँदै तेबहाल, सुन्धारा, बागदरबार, ताहागल्ली, भुलां, गणबहाल, खिधल, लगन, भोटेबहाल, पोडेटोल, सबल (नायपाच्व), चल्खु, सापूत्वाः, ओन्देनारायण, ह्युमत, जोशी देगल, कोहिति, भीमसेनस्थान, ख्यःक्यव, भौक्यव हुँदै पुनः मरुटोलमा आएर परिक्रमा टुंगिन्छ ।
यस अवसरमा आजदेखि लाखे नाच, किलागलको पुलुंकिसी नाच, हलचोकको आकाशभैरव नाच, किलागलकै देवीनाच, भक्तपुरको महाकाली नाच पनि देखाउने चलन छ ।
आजै हनुमानढोकामा हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गर्ने गरिन्छ ।
यस्तै काठमाडौंका चोकचोकमा आज विशेष प्रकारले सजाईएको समय बजी प्रदर्शन गर्दै भजनकिर्तन गर्ने गरिन्छ ।
Categorized in संस्कृति