arin enterprises

उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्रीलाई भने– ‘उपत्यका छिर्ने सबै नाका सिल गरौँ’

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ १, बिहिबार

उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकामा भइरहेको आवत–जावतमा कडाई गर्न माग गरेका छन् । 

आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

बैठकमा एक दुई जना लुकिछिपी आउँदा र ती व्यक्तिमा कोरोना संक्रमण देखिदाँ अरु सयौँको परिक्षण गर्नुपर्ने अवस्था आउने र त्यसले राज्यको लाखौँ रुपैयाँ खर्च हुने भएकाले संक्रमण फैलिनै नदिने कुरामा सचेत रहनु पर्नेप्रति पनि जनप्रतिनिधहरुले सुझाव दिएका थिए । 

गृहमन्त्री थापालाई उपत्यकाको नाकामा मात्र नभई प्रस्थान विन्दुबाटै आवतजावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्नेे वातावरण निर्माण गर्न आग्रह गरेको कामपा प्रमुख शाक्यको भनाई थियो ।

अत्यावश्यक कामका लागि उपत्यका आउनुपर्ने व्यक्तिले आफु आउने स्थानीय तह र जिल्ला प्रशासनलाई समेत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरेको शाक्यको भनाई थियो । 

‘मन्त्रालयले पास दिने अनि उपत्यका भित्र ल्याएर छाडिदिने त्यसपछि हाम्रा वडाध्यक्ष–सदस्यहरु चाँहि उनीहरुको पछि–पछि लाग्दै उनीहरुलाई खोज्दै हिड्नुपर्ने बाध्यताका कारण ठूलो समस्या भएको छ’ शाक्यले भन्नुभयो । ‘लकडाउनको उल्लङ्घन गर्दै लुकिछिपी उपत्यका भित्र आउने र ल्याउने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सुझाव दिएका छौँ ।’ 

जथाभावी पास दिने कुरालाई समेत निरुत्साहित गर्न सुझाव दिएको पनि शाक्यले जानकारी दिनुभयो ।  

नगरपालिका फोरमका सुझावहरु प्रति गृहमन्त्री सकारात्मक रहेको जानकारी शाक्यले दिनुभयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भन्दै घना बस्ती भएको काठमाडौं उपत्यकालाई सुरक्षित राख्नु पर्नेमा जोड दिनुभयो । 

‘सरकाले नेपाल फिर्ता भएका नागरिकको सबै तथ्याङक राख्नुपर्छ । त्योसँगै भारतबाट आउने फलफुल, तरकारीलगायतलाई बन्द गरी स्थानीय उत्पादनमा जोड दिन सुझाव दिएका छौँ’ प्रजापतिले भन्नुभयो । 

पूर्व उच्च पदस्थ पदाधिकारी र ठूला–ठूला उद्योगमा खटाइएका सुरक्षाकर्मीलाई सीमा सुरक्षामा खटाउन सुझाव दिएको प्रजापतिले बताउनुभयो ।

बैठकमा जनप्रतिनिधिले उपत्यका संघीय राजधानी समेत भएकाले स्थानीय तहले क्वारेण्टाइन निर्माण गर्दा मापदण्डलगायतका समस्या हुन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गर्न संघीय सरकारलाई नै आग्रह गरेका थिए ।

बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसँगै ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, ताराकेश्वर नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सुर्यविनायक नगरपालिकाका प्रमुखहरुको सहभागीता थियो ।  

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले सरकारलाई यस अघि पनि पटक पटक उपत्यका प्रवेशमा कडाई गर्न माग गर्दै आएको छ ।

Categorized in स्थानीय