पाटन दरवार क्षेत्रमा सवारी र पार्किङ निषेध
SamacharDesk – रक्षण राजोपाध्याय | २०७९ पौष १७, आइतबार

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले पाटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नगर प्रहरी प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।
आइतबार पाटन दरवार क्षेत्रमा सवारी, पार्किङको साथै फुटपाथ पसल निषेध कार्यक्रम लागू गरिएको सन्दर्भमा समाचारडेस्कसँग कुरा गर्दै नगर प्रहरी प्रमुख हाछेथुले यस्तो बताएका हुन् ।
‘विगतमा नियम लागू गरियो होला, तर एउटा कार्यक्रमकै रुपमा आएको थिएन । यस पटक महानगरपालिकाको वैठकबाटै दश बुँदे निर्णय नै गरेर कार्यक्रम लागू भएको छ । यो कार्यक्रम दीगो रुपमा लागू र कार्यान्वयन हुनेछ’ ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने ।
यसै सन्दर्भमा आज हाछेथुसहित नगर प्रहरीको टोलीले पर्चा वितरणको साथै दरवार क्षेत्र सरसफाई पनि गरेका थिए ।
‘ललितपुरको समृद्धि र विकासको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारा सहित आजैबाट उक्त कार्यक्रमको थालनी गरिएको हो ।
कार्यक्रम अन्तर्गत आजबाट विश्व सम्पदामा सूचिकृत पाटन दरबार क्षेत्रमा मोटर साईकलको साथै चार पाङग्रे सवारी प्रवेश निषेध गरिएको छ । यसको साथै आजबाट दरवार क्षेत्रमा सवारी पार्किङ पनि गर्न पाइने छैन ।
‘दरवार क्षेत्रमा सवारी साधन प्रवेश र पार्किङ पूर्ण रुपमा निषेध गरिएको छ । स्थानीयको लागि पासको व्यवस्था गरिएको छ । तर स्थानीयले पनि पार्किङ भने गर्न पाइनेछैन, आआफ्ना सवारी घरभित्रै राख्नुपर्नेछ’ हाछेथुले भने ।
सो क्षेत्रमा धुम्रपान, मद्यपानको साथमा साईकल स्टन्ट गर्न, चिया, मकै आदि बेच्न, तौल मेसिन राख्न पनि निषेध गरिएको छ । धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरुमा, धार्मिक आस्थामा आँच आउने गरि चढ्ने जस्ता कामहरु गर्न समेतमा निषेध गरिएको छ ।
साथमा उच्छृङ्खल तरिकाले टिकटक र अन्य भिडियो बनाउन, अनुमति बिना फोटो सुट, म्यूजिक भिडियो वा अन्य कुनै भिडियो सुटिङ गर्न र कार्यक्रम गर्न पनि रोक लगाइएको छ ।
‘काठमाडौं उपत्यकालाई नै मन्दिरै मन्दिरको ठाउँ भनेर चिनिन्छ । मन्दिर, ऐतिहासिक, धार्मिक महत्वका मूर्ति आदि हाम्रै सम्पदा हो । यसको संरक्षणको दायित्व हाम्रै हो । यसमा हामी प्रतिवद्ध भएर लाग्नेछौं’ हाछेथुले बताए ।
अटेर गरेमा सुरुमा चेतावनी स्वरु, पाँच सय रुपैयाँ जरिवाना तिराइने, पछि फेरी पनि अटेर गरेमा १५ सय सम्म जरिवाना लाग्ने पनि हाछेथुले जानकारी दिए ।
स्थानीय सम्पदाको संरक्षण र सम्वर्ध्दनका लागि सबै एकजुट भएर लाग्न आम नागरिकलाई पनि हाछेथुले आह्वान गरे ।
Categorized in स्थानीय