arin enterprises

छत्रपाटी अस्पताललाई भेन्टिलेटर र एनेस्थेसिया मेसीन प्रदान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २०, बिहिबार

काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई २ थान भेन्टिलेटर मेसीन र एक थान एनेस्थेसिया मेसीन प्रदान गरिएको छ ।

अस्पताललाई काठमाडौं महानगरपालिकाले २ थान भेन्टिलेटर मेसीन र अरनिको समाजले एनेस्थेसिया मेसीन प्रदान गरेको हो ।

आज अस्पताल परिसरमै आयोजित कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका अध्यक्ष डा.मनोजमान श्रेष्ठलाई भेन्टिलेटर मेसीन हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा महानगर प्रमुख शाक्यले अहिले कोभिड नियन्त्रण अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताउनुभयो ।

शाक्यले कोभिड संक्रमित विरामीको लागि महानगर मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडहरु रहेको र ती बेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी रहेको जानकारी गराउनुभयो ।

‘बाँकि बेडहरु खाली छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुनेछ’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नविन मानन्धरले अहिलेको महामारी नियन्त्रण गर्न प्रभावकारी प्रतिकार्य गरिर्नपर्ने र सिकाईबाट भावी पुस्तालाई उपयोग हुने संयन्त्र तयार गर्नुपर्ने विचार राख्नुभयो ।

अस्पतालका अध्यक्ष डा. श्रेष्ठले हाल अस्पतालमा कोभिड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचाररत रहेको जानकारी गराउनुभयो ।

‘कोभिड उपचारका लागि नर्सिङ् स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ’ श्रेष्ठको भनाई हो ।

छत्रपाटी निःशुक्ल चिकित्सालय अस्पताल हाल महानगरको विशेष कोभिड अस्पतालको रुपमा संचालित छ । महानगरले अस्पताललाई यसअघि गत जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर प्रदान गरिसकेको छ ।

आज हस्तान्तरण गरिएको भेन्टिलेटर मेसीनहरु जर्मनमा उत्पादन भएको र यसको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ ।

त्यसैगरी आजै अरनिको समाजले अस्पताललाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ ।

सोही कार्यक्रममा समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले अस्पतालका अध्यक्ष श्रेष्ठलाई मेसीन र अन्य सामग्रीहरु हस्तान्तरण गर्नुभयो । 

सामग्री हस्तान्तरण गर्दै समाजका अध्यक्ष डा. श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धबाट यी सामग्रीहरु प्राप्त भएको बताउनुभयो  ।

‘चीनबाट नेपालको लागि निरन्तर सहयोग प्राप्त भइरहेको छ । महामारी नियन्त्रणका लागि अन्तरेदशीय साथै समुदायबीच पनि आपसी सहकार्य हुनु आवश्यक छ’ समाजका अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो ।

एनेस्थेसिया मेसीनको मूल्य करीब २६ लाख ५० हजार रुपैयाँ रहेको जानकारी गराइएको छ ।

Categorized in समाज