बञ्चरेडाँडामा फोहोर फाल्न सुरु
SamacharDesk | २०८० श्रावण ५, शुक्रबार

केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बलप्रयोग गरी स्कर्टिङ गरी बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ ।
शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।
फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो । साउन १ देखि स्थानीयको अवरोधका कारण रोकिएको फोहोर प्रहरीको सहयोगमा आजदेखि लगिएको हो ।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित रहेकोमा आजबाट प्रहरीको सहयोगमा फोहरका ट्रक लगिएको हो ।
ककनी गाउँपालिकाका वडा नम्बर ३ र ५ तथा धुनीबेंसी नगरपालिकाको वडा नम्बर १ का वासिन्दाले फोहोर लिएर गएका गाडीलाई सीमामै अवरोध गरेका थिए ।
शहरी विकास मन्त्रालयले स्थानीयको समस्या समाधानमा चासो नदिएको आरोप उनीहरुले लगाउँदै आएकाछन् । ककनी गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई पटके शुल्क लिने निर्णय गरेको थियो ।
ठूला गाडीलाई १५ सय र साना गाडीलाई एक हजार रुपैयाँ शुल्क लिने ककनीको निर्णय विरुद्ध काठमाडौं उपत्यका फोहोर ब्यवस्थापन संघले सर्वोच्चमा मुद्धा हालेपछि उनीहरुले आन्दोलनको सहारा लिएको अनुमान गरिएको छ ।
Categorized in राष्ट्रिय