arin enterprises

चाकु टोखाको नभए के खानु र

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २९, बुधबार

टोखा, राजधानीभित्रै परेको एउटा प्राचीन वस्ती ।

टोखाको मौलिक नाम तुख्यः हो । तु अर्थात उखु, ख्यः भन्नाले चौर अथवा भनौं बारी । विगतमा यहाँका खेतहरु, चौरहरु सबै उखुले भरिएको हुन्थ्यो रे । ‘तु’ को ‘ख्यः’ अर्थात उखुको चौर । तुख्यः नै अपभ्रम्स भई तोखा बन्न गयो र कालान्तरमा गएर तोखालाई टोखा भनिन थाल्यो ।

टोखामा ठुलै परिमाणमा उखुको खेती हुन्थ्यो । त्यहि उखुबाट सख्खर बनाइन्थ्यो र सख्खरबाट चाकु । टोखाको नाम लिने वित्तिकै सबैले चाकु नै सम्झिने गर्छन् । टोखा र चाकु त पर्यायवाची शब्द नै बनिसकेका छन् ।

भक्तपुरको जुजु धौ, खोकनाको तेल, हेलम्बुको स्याउ, इलामको चियाको साथमा टोखाको चाकु विश्व प्रशिद्ध नै भन्दा हुन्छ । टोखाबासीको परम्परागत पेशा भनेकै चाकु उत्पादन ।

माघे संक्रान्तिको दिन नेवार समुदायमा चाकुको ठुलो महत्व रहने गर्दछ । यो दिन नेवार समुदायमा घ्यू चाकु राखेर भात खाने गरिन्छ । साथमा चाकु राखेर तीलको लड्डु पनि बनाएर खाने गरिन्छ । माघे संक्रान्ति अर्थात चाकु खाने दिन र चाकु भन्ने वित्तिकै टोखाको नभए त के खानु र ।

मंसीर र पुस, यो दुई महिना टोखाका चाकु व्यवसायीहरुलाई भ्याइ नभ्याइ हुन्छ । यहि दुई महिना त वर्षभरीमा चाकुको सिजन ।

कृष्णबहादुर श्रेष्ठलाई पनि खाना खान त के, सास फेर्न पनि फुर्सद छैन । चाकु लिएर असन पुर्‍याउ । फेरी कारखानामा प्रोडक्सनमा पनि त हेर्नुपर्यो । पत्रकारहरु पनि उत्तिकै आइरहेका छन् उनलाई खोज्दै ।

कृष्णबहादुर टोखाको पहिलो चाकु उत्पादक परिवारका हुन् । हाल उनी कृष्ण चाकु प्रोडक्सन प्रा.लि. नामले कम्पनी नै दर्ता गरेर व्यावसायिक रुप दिएरै चाकु उत्पादनमा लागिरहेका छन् ।

टोखामा चाकु उत्पादन गर्ने काम उनकै परिवारले शुरु गरेको थियो । कृष्णबहादुरका अनुसार अघिल्लो ३ पुस्ताको ईतिहास स्पष्ट देखिन्छ । उनका जिजु हजुरबुबा अष्टमान श्रेष्ठदेखिको प्रमाण भेटिएको छ । यसलाई आधार मान्ने हो भने कृष्णबहादुरका जिजु हजुरबुबाले चाकु बनाउन थालेको करीब एक सय वर्ष भयो ।

‘मलाई थाहा भएसम्म मेरा जिजु हजुरबुबाले काम शुरु गरे, त्यसपछि हजुरबुबा अष्टनारायण श्रेष्ठ, अनि बुबा कृष्णलाल श्रेष्ठ । अब मैले मेरो पुर्खाको परम्परालाई निरन्तरता दिइरहेको छु’ गर्वसाथ कृष्णबहादुरले सुनाए ।

टोखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक राज जोशीले टोखामा चाकुको ईतिहास सय वर्ष मात्र पुरानो नभएको बताउँछन् ।

‘कृष्ण बहादुरका जिजु हजुरबुबाभन्दा अगाडी नै यहाँ चाकु उत्पादन शुरु भइसकेको थियो, त्यो बेलाको प्रमाण केही भेटिएन, त्यसैले स्पष्ट छैन,’ वडाध्यक्ष जोशीले भने, ‘यहाँ मल्लकालमै चाकु उत्पादन शुरु भइसकेको देखिन्छ ।’

मंसीरमा मंसीर पुर्णिमा अर्थात यःमरि पुन्हि अनि माघ १ गते घ्यःचाकु संल्हू अर्थात माघे संक्रान्ति । चाकुको विक्री हुने सिजन यहि मात्रै हो । अरु बेला भनेको त अलि अलि अर्डर आउने मात्रै हो । गर्भवती छोरीलाई दहि चिउरा ख्वाउन जानका लागि सुत्केरीलाई ख्वाउनको लागि, बच्चाहरुको जन्मदिनमा यःमरि बनाउनका लागि आउने केही अर्डर बाहेक खासै चाकु विक्री हुन्न ।

यो दुई महिनामा कृष्णबहादुरको चाकु फ्याक्ट्रिबाट दिनको करीब ५ देखि ६ सय केजि चाकु उत्पादन हुने गर्दछ । अरु बेला एकदम थोरै मात्र उत्पादन हुन्छ ।

‘खासमा आर्थिक हिसाबले चाकु उत्पादनमै निर्भर हुन गार्हो छ,’ कृष्णबहादुरले सुनाए । ‘मेरो पुर्खाले शुरु गरेको एउटा उत्पादनले टोखालाई चिनायो, यहि गौरवको निरन्तरताको लागि मैले यो काम गरिरहेको छु ।’

उनलाई गर्व छ आफुलाई चाकु उत्पादक भन्नमा । किनकि उनको लागि वा टोखाबासीको लागि चाकु एक खाद्य पदार्थ मात्र होइन, टोखाको गौरव हो ।  फेरी टोखाको पहिचान बनेको चाकुको उत्पादनको शुरुवात कृष्णबहादुरकै पुर्खाबाट भएकोले उनको लागि त यो विषय झन गौरवशाली हुने भइहाल्यो ।

चकलेटको रुप दिएर आकर्षक प्याकेजिङमा विदेशी बजारमा समेत टोखाको चाकु पठाउने योजनामा उनी छन् । हुन छ अहिले पनि कृष्ण चाकु प्रोडक्सनको चाकु अस्ट्रेलियासम्म पुग्ने गर्छ तर अब उनी आफ्नो उत्पादनलाई ब्रान्डिङ गर्ने योजनमा लागेका छन् ।

यति मात्र होइन, टोखाका चाकु उत्पादकहरु मिलेर टोखा परम्परागत चाकु संरक्षण समाज गठन गरेका छन् । सबै मिलेर चाकु उत्पादन व्यवसाईलाई आधुनिकीकरण गर्दै बजार विस्तार गर्ने योजनामा जुटेका छन् ।

टोखालाई चाकुले नै विश्वभरी चिनाएको छ । टोखाको लागि चाकु व्यापार व्यवसायमात्र होइन । यहाँको साँस्कृतिक पहिचान हो ।

यहाँको चाकु उत्पादन र बजार व्यवस्थापनको लागि स्थानीय सरकारले पनि केही सहयोग गरेको खण्डमा टोखाकै गरिमा बढ्ने निश्चित छ । तर टोखा नगरपालिकाले भने नाफामूलक क्षेत्रमा सहयोग गर्नुनपर्ने भन्ने गरेको वडाध्यक्ष दिपक राजले बताए ।

‘मैले यहाँको चाकु व्यवसायलाई प्रोत्साहनको लागि केन्द्रमा दुई पटक सहयोगको प्रस्ताव लगिसकें तर केन्द्रले व्यापार व्यवसायमा सहयोग गर्नुनपर्ने भन्दै चासो देखाएन, अर्को आर्थिक वर्षमा म वडास्तरबाट भएपनि शुरुवात गर्नेछु’ जोशीले भने ।

नयाँ आर्थिक वर्षमा चाकु उत्पादकहरुलाई दाउरा किन्नको लागि भएपनि वडाबाटै भएपनि ३० हजार रुपैयाँ सहयोग गर्ने जोशीले जानकारी गराए ।

चाकु व्यवसायलाई अझ व्यवस्थित बनाउँदै बजार विस्तारको लागि चाकु सरक्षण समाजसँग आफु निरन्तर सम्वादमा रहेको पनि जोशीले बताए । चाकु उत्पादन हुने क्षेत्रमा सरसफाई लगायतका पक्षमा ध्यान दिन र आधुनिक प्रविधिलाई आत्मसात गर्दै उत्पादनमा लाग्नको लागि आफुले चाकु व्यवसायीहरुलाई सुझाव दिने गरेको जोशीले जानकारी गराए ।

विगतमा उखुको खेती पनि यतै हुन्थ्यो र चाकु बनाउन चाहिने सख्खर पनि यतै बन्थ्यो । अब सख्खर भारतबाट आउने गर्दछ । स्थानीय उत्पादनलाई दीर्घकालीन योजनासहित राज्यस्तरबाटै नहेर्ने हो भने सख्खरजस्तै भोलि चाकु पनि यहाँबाट नहराउला भन्न सकिन्न ।

अनुदान वा न्यून ब्याजदरमा ऋण आदि सुविधा दिइए स्थानीय उत्पादन बढ्नेछ र स्थानीय उत्पादन बढेसँगै राजस्व संकलन पनि बढ्नेछ । जसरी कृषि पेशालाई सरकारले सुविधा उपलब्ध गराएको छ, यहाँका स्थानीय उत्पादनको लागि पनि योजना बनाइए नेपाली उत्पादन बढ्नेछ ।

नेपाली उद्योगको विकास भनेको समग्र देशकै विकास हो । राज्य वा सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ठोस योजना बनाउनु जरुरी देखिन्छ ।

(फिचरको लागि सहयोग आकाश राजोपाध्याय र रक्षण राजोपाध्याय)

Categorized in बिचार