सेतो मच्छिन्द्रनाथको रथजात्रा आज शुरु हुँदै
SamacharDesk – बिराज | २०७८ बैशाख ७, मंगलबार

वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज साँझमा दरवारमार्गस्थित तीनधारा पाठशाला अगाडीबाट रथ तान्दै यस वर्षको जात्रा शुरु हुनेछ ।
यस अघि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित काठमाडौंको जनबहालबाट तीनधारा पाठशाला पुर्याइनेछ । तीनधारा पाठशालामा मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गराइसकेर रथ तानिनेछ ।
एकजना किसानले तीनधारा पाठशालानेर खेत खन्दै गर्दा सोही ठाउँमा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला परेको जनविश्वास छ । मूर्ति फेला परेकै ठाउँ भएकोले सोही ठाउँमा रथ बनाइ, त्यहिँबाट रथ जात्रा शुरु गर्ने गरिएको हो ।
आज रथलाई तानेर दरवारमार्गबाट रत्नपार्क हुँदै भोटाहिटीबाट असन पुगेपछि आजको जात्रा सम्पन्न हुनेछ । आज रथ असन पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
रथ जात्राको दोश्रो दिन रथलाई असनबाट हनुमानढोकामा लगिनेछ भने तेश्रो दिन हनुमानढोकाबाट लगन पुर्याइनेछ । अन्तिममा मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा राखेर जनबहाल पुर्याइएपछि जात्रा सम्पन्न हुनेछ ।
मच्छिन्द्रनाथको जात्रा सफलतापूर्वक सम्पन्न भएमा वर्षा राम्रो भई अन्नबाली पनि राम्ररी सप्रिने विश्वास रहेको छ ।
स्थानीय समाजले जनबहाःद्यः भनेर पुकार्ने मच्छिन्द्रनाथलाई करुणामयको रुपमा पनि लिइन्छ । त्यस्तै नाथ सम्प्रदायीले मच्छिन्द्रनाथ भन्ने गर्छन् भने बौद्ध धर्मावलम्बीहरुले आर्यावलोकितेश्वरको रुपमा पूज्ने गरेका छन् ।
सतर्कता अपनाउन आग्रह
यसैबीच सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१ ले जात्रामा सहभागी हुने सबैले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।
समितिका संयोजक साथै काठमाडौं महानगरपालिका २५ वडाका वडाध्यक्ष नीलकाजी शाक्यले मास्क, स्यानिटाइजरको प्रयोग गर्नुका साथै भौतिक दुरी कायम गर्दै जात्रामा सहभागी हुन आग्रह गरे ।
साथै बालबालिकासाथै जेष्ठ नागरिकलाई हुलमुलमा नजान पनि शाक्यले आग्रह गर्नुभएको छ ।
बाजागाजा १५ मिनेट अगावै अघि बढ्ने र रथ पछि मात्र तानिने पनि बताइएकाे छ ।
Categorized in संस्कृति