arin enterprises

को हुन् हाका नाच्ने न्युजिल्याण्डकी सांसद ?

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २३, सोमबार

न्युजिल्याण्डकी कान्छी सांसद हाना राहिती मिप्पे क्लार्कको जनमानसमा धेरै चर्चा भइरहेको छ । गत वर्ष डिसेम्बरमा आफ्नो पहिलो भाषणको क्रममा हानाले परम्परागत ‘माओरी हाका’ प्रदर्शन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी चर्चामा आएकी हुन् ।

उनले आफ्नो जातिको प्रतिनिधित्व गर्दै यो सांस्कृतिक प्रदर्शन गरेका थिए । सामाजिक संजालमा उनको यो प्रदर्शनलाई कसैले सकारात्मक रुपमा लिएर सेयर गरेका छन् भने कसैले भिडियो शेयर गर्दै उनलाई मजाकको पात्र पनि बनाइ रहेका छन् ।

को हुन् त हाना ?

हाना राहिती न्युजिल्यान्डकी सबैभन्दा कान्छी सांसद हुन् र उनी माओरी जनजातिकी हुन् । २१ वर्षीया हानाले गत वर्ष न्यूजील्याण्डमा सम्पन्न आम निर्वाचनमा विजयी हुँदै संसदमा सांसदको रूपमा माओरी पार्टी भनेर चिनिने तेपाटी माओरीको प्रतिनिधित्व गर्दै आएकी छिन् ।

सन् १८५३ मा २० वर्षको उमेरमा निर्वाचित जेम्स स्टुअर्टपछि उनी सबैभन्दा कान्छी सांसद हुन् । उनले सन् २००८ देखि हौराकी–वाइकाटो सिटबाट प्रतिनिधित्व गर्दै आएकी वर्तमान सत्तारुढ ननैया माहुतालाई पराजित गर्दै न्युजिल्याण्डको १७० वर्षको इतिहासमा सबैभन्दा कान्छी सांसदको रुपमा इतिहास रचेकी थिइन् ।

 

के हो हाका नाच ?

माओरी समुदायले नाच्ने एक किसिमको सांस्कृतिक नाच हो, हाका । माओरी भाषामा हाका भनेकै नाच हो । तर, यो सामान्य नृत्य भने होइन । यो प्राचीन युद्ध नृत्यको एउटा प्रकार हो ।

जसलाई पूर्ण शक्ति र अभिव्यक्तिका साथ प्रस्तुत गरिन्छ । हाका माओरी समुदायको गौरव, शक्ति र एकताको प्रदर्शन हो । हाकामा खुट्टा ठप्प पार्ने, जिब्रो बाहिर निकाल्ने र लयमा शरीरलाई ट्याप गरी ठूलो स्वरमा चिच्याउने गरिन्छ ।

परम्परागत रुपमा भ्रमणमा आउने पाहुना जनजातिहरुलाई स्वागत गर्ने तरिका हो, हाका । यसका साथै यो नृत्यले युद्धमा जाने योद्धाहरुलाई प्रोत्साहन गर्ने काम पनि गर्दथ्यो । भन्नु पर्दा यो शारीरिक क्षमताको प्रदर्शन पनि हो ।

हाका आदिवासी क्षेत्र अनुसार फरक हुने गर्छ । हाकाले इवि जनजातिको इतिहासमा महत्त्वपूर्ण घटनाहरूको कथा बताउँछ । केहि ठाँउमा हाकामा हतियारसहित नाच्ने गरिन्छ ।

आजको दिनमा हाका सम्मानको चिन्हको रुपमा नाच्ने गरिन्छ ।

यो खेलकुद कार्यक्रमहरु, विवाह, अन्त्येष्टि र पोहिरी (परम्परागत स्वागत) जस्ता महत्त्वपूर्ण अवसरहरुमा गरिन्छ ।

हाकाको उत्पति

माओरीको पौराणिक कथा अनुसार, सूर्य देवता (तम–नुई–ते–रा) का दुई पत्नीहरु थिए, हिने–रौमती र हिने ताकुरुवा ।

हिने–रौमती ग्रीष्म ऋतुकी देवी हुन् भने हिने ताकुरुवा हिउँद ऋतुकी । हिने–रौमतीबाट तम–नुई–टु–राको सन्तान भएको थियो । जसलाई ताने–रोर नाम दिइएको थियो ।

तीनै ताने–रोरलाइ हाका नृत्यको उत्पत्तिको श्रेय दिइएको छ । उनले आफ्नो आमाको लागि यो नाच नाच्ने गर्थे ।

जसका कारण हावामा कम्पन हुन्छ जुन गर्मीको दिनमा देखिन्छ ।

हाकामा हात काम्ने इशाराहरुद्वारा यो कम्पनलाई प्रतिनिधित्व गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय