arin enterprises

कस्ले जित्ला त क्रिकेट विश्वकप २०२३ को उपाधि ?

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर ३, आइतबार

आज आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक भारत र अष्ट्रेलिया खेल्दैछन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे यी दुई टोली भिड्न लागेको हो ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए । यस जारी विश्वकपको लिग चरणमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । यस्तै भारत भने अहिलेसम्म अपराजित छ ।

लिग चरणमा २ खेल हारेपछि अष्ट्रेलिया लयमा फर्किएको थियो ।

अष्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ । यस्तै भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बनेको छ ।

सन् २००३ पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि एकअर्कासँग भिड्दैछन् ।

सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो । सन् २००३ को एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारत र अष्ट्रेलियाबीच नै प्रतिस्पर्धा भएको थियो ।

मार्चको २३ तारिखमा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको उपाधि भिडन्तमा टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले २ विकेटको क्षतिमा ३५९ रनको विशाल योगफल तयार गरेको थियो । ३६० रनको लक्ष्य पछ्याएको भारत ३९.२ ओभरमा २३४ रनमै अलआउट हुँदा १२५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

अस्ट्रेलियाले त्यसयता २००७ को फाइनलमा श्रीलंका र २०१५ को फाइनलमा न्युजिल्यान्डलाई हराउँदै विश्वकपमा पाँच पटक च्याम्पियन बन्ने इतिहास रच्यो ।

भारतले भने सन् २०११ मा घरेलु मैदानमा भएको उपाधि भिडन्तमा श्रीलंकालाई हराएर दोस्रो उपाधि जित्यो । एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारतको कीर्तिमान राम्रो छैन ।

दुवै टोलीले अहिलेसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् भने ८३ जितसहित अष्ट्रेलिया भारतभन्दा (५७ जित) अगाडि छ । विश्वकपमा दुवै टोलीले एकअर्कासँग १३ खेल खेलेका छन् र यहाँ पनि अष्ट्रेलिया ८–५ ले अगाडि छ ।

भारतीय भूमिमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा छ । भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा दुवै टोलीले समान ३३–३३ खेल जितेका छन् । साथै यस वर्ष दुई टोलीबीच खेलिएका ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ ।

जारी विश्वकपमा भारत अपराजित छ । भारतले समूह चरणमा नौ र सेमिफाइनल गरी लगातार १० खेलमा जित निकालेको छ।

अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराएर बदला लिइसकेको छ ।

भारतले अस्ट्रेलियालाई पराजित गर्न त्यति सजिलो भने हुनेछैन। अस्ट्रेलिया छैटौं पटक च्याम्पियन बन्ने योजनामा छ ।

पछिल्लो पटक अष्ट्रेलियाले सन् २०१५ मा उपाधि जितेको थियो । अष्ट्रेलियाले १९९९, २००३ र २००७ मा च्याम्पियन बनेर उपाधि ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो ।

Categorized in स्पाेर्ट्स