न्यूरोडको पसलहरुमा फूलमाला हटाएपछि महानगरको व्यापक आलोचना
SamacharDesk – बिराज | २०७९ कार्तिक ६, आइतबार

न्यूरोडको पसलहरुमा सजाएर राखिएका फुलमालाहरु हटाएपछि महानगरको चौतर्फी आलोचना हुन थालेको छ । तिहारको अवसरमा सजावटका लागि राखिएका फुलमालाहरु महानगरले आज विहान हटाएको हो ।
तिहारमै पसलको सजावटको लागि यसरी फुलमाला समेत राख्न नदिएपछि न्यूरोडका व्यवसायी साथै आम सर्वसाधारण समेत आक्रोशित भएका छन् ।
‘फूलकै चाड समेत भनिने तिहारमै हामीले पसल फुलमालाले सजाउन नपाउनु ? महानगरको यो कस्तो नियम हो र कहिलेबाट आएको नियम हो ? आजसम्म त यस्तो भएको थिएन’ न्यूरोडका एक ज्वेलरी पसलका व्यवसायीले भने ।
महानगरले भने सडक पेटी ढाकेर राखिएका सजावटका सामग्री मात्र निकालेको दावी गरेको छ । तर, नगर प्रहरीहरुले पसलको साइनबोर्ड माथि झुन्ड्याएर राखिएका फुलमालासमेत सबै तानेर निकालिदिएको व्यवसायी एवम् प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यस घटना पछि सामाजिक संजालमा समेत काठमाडौं महानगर र महानगर प्रमुख बालेन शाहको आलोचना भइरहेको छ ।
‘अब त लाग्छ घरको ठूला संस्कार, धार्मिक कार्यक्रमको लागि पहिले कामनपाको स्वीकृति लिनुपर्ने देखियो, नत्र गेटको दायाँबायाँको केराको खम्बा, सजायको फूलको द्वार कामनपाले उठाउने भो’ बिरु राजोपाध्याय नामक फेसबुक प्रोफाइलमा लेखिएको छ ।
त्यस्तै त्रिचन्द्र श्रेष्ठ लेख्छन्, ‘ आफ्नो सटर बाहिर व्यापारीले सामान मात्र राख्न नपाउने भनेको त तिहारमा १र२ दिन फूलले सिंगार्न पनि नपाउने रहेछ बालेनको नियम र कानूनले ।’
कतिले त काठमाडौं महानगर प्रमुख बालेन फूलको सजावट र बत्तीको झिलिमिलि नरुचाउने व्यक्ति भनेर लेखेका छन् । फुटपाथ पसल हटाउने अभियान ठिक भएपनि तिहारको तीन दिन फूलमालाले पसल सजाउन समेत नदिने महानगरको तानाशाही प्रवृत्ती भएको आरोपसमेत कतिले लगाएका छन् ।
तिहारको लागि भनेर न्यूरोडका पसलहरुले शनिबार बेलुकी फुलमालाहरु राखेर पसल सजाएका थिए । तर आज आइतबार विहान महानगरको नगर प्रहरीको टोली आएर सबै फुलमालाहरु हटाइदिएको हो ।
Categorized in समाज