विजयी उम्मेदवारले नै भने, ‘मलाई धाँधली गरी जिताइयो’
SamacharDesk – इन्टरनेशनल न्यूज डेस्क | २०८० फाल्गुण ४, शुक्रबार

पाकिस्तानमा गत साता सम्पन्न भएको विवादास्पद आम निर्वाचनमा विजयी एक उम्मेदवारले आफुलाई धाँधली गरेर जिताइ दिएको भन्दै राजीनामा दिएका छन् ।
कराँची शहरको प्रान्तीय विधानसभा सीट पीएस–१२९ को विजेता घोषित जमात–ए–इस्लामी पार्टीका रहमान हाफिज नईमले यस्तो भन्दै आफ्नो जित वहिष्कार गरेका हुन् ।
उनले इमरान खानको पीटीआई पार्टी समर्थित उम्मेदवारले धेरै मत प्राप्त गरेको र उनीहरूको संख्या घटाइ आफुलाई धाँधली गर्दै विजेता घोषित गरिएको बताए ।
रहमानले आफ्नै पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा यदि आफुलाई कसैले नाजायज तरिकाले जिताउन चाहन्छ भने आफुले त्यसलाई स्वीकार नगर्ने बताए ।
‘जनमतको सम्मान गर्नुपर्छ, विजेतालाई जिताउनुपर्छ, हारेकोलाई हार्न दिनुपर्छ, कसैले पनि अतिरिक्त केही पाउनु हुँदैन’ रहमानले भने ।
उनले आफूले २६ हजारभन्दा बढी मत प्राप्त गरेको र पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार सैफ बारीले ३१ हजार मत प्राप्त गरेको तर त्यसलाई ११ हजार मतका रुपमा प्रस्तुत गरिएको बताए ।
पाकिस्तानी निर्वाचन अधिकारीहरूले भने रहमानको उक्त आरोपको खण्डन गरेका छन् ।
यसपछि भने अब पीएस–१२९ सीट कसले लिने छ भन्ने स्पष्ट हुन सकेको छैन ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान गत अगस्टदेखि जेलमा छन् र उनको पार्टी मतदानबाट अयोग्य घोषित भएको थियो । त्यसै कारणले पीटीआईका उम्मेदवारहरूले स्वतन्त्र रूपमा चुनाव लडेका थिए ।
राष्ट्रिय सभाको २६५ सिटमध्ये ९३ सिटमा इमरान खानको समर्थनमा निर्वाचन लडेका स्वतन्त्र उम्मेदवारहरु विजयी भएका थिए, जुन कुनै पनि दलको सबैभन्दा ठुलो सिट हो ।
यद्यपि पीटीआईले यस्ता स्वतन्त्र उम्मेदवारले अझ बढी मत र बढी सिट जित्नुपर्ने तर्क गर्दै मतदानमा धाँधली भएको आरोप लगाइरहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय