arin enterprises

लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ

SamacharDesk | २०७९ आषाढ ३१, शुक्रबार

लागूऔषध कारोबारमा प्रहरी नै संलग्न भएको तथ्य सार्वजनिक भएको छ । सर्लाहीको नवलपुरबाट प्रहरी हवल्दार लागू औषधी सहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् ।

प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स एक सय एमएलको १ सय ५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

लालबन्दी नगरपालिका– १ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित सिंहलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

सिंहले सुरुमा बोराभित्र रहेको उक्त लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि बोरा लैजान दबाब दिएपछि उनले उखुबारीमा लगेर लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रौतहट घर भएका हवल्दार सिंहलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Categorized in अपराध