arin enterprises

तन्त्रविद्हरुको सम्मानको साथै ‘नेपालमा तन्त्र’ पुस्तक विमोचन

SamacharDesk – बिराज | २०७९ पौष २४, आइतबार

नेपाली तन्त्रको अध्ययन, अनुसन्धान एवम् विकासमा योगदान पुर्‍याउने अध्येता, साधकहरुलाई तन्त्र चर्चा परिवारले सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न किसिमले तन्त्रको विकास र प्रचार प्रसारमा योगदान पुर्‍याउने चार जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ, तन्त्रविद् डा. माधव प्रसाद लामिछाने, धामिझाँक्रीविद् डा. भोलानाथ बास्तोला र तन्त्र एवम् मनोविद् डा. लर्डश्री गुरुङलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई त्रिगुणातीत तन्त्र साधना रत्न महेश्वर जुजु राजोपाध्यायले दोसल्ला ओढाए भने तन्त्रविद्या शिरोमणि प्रा. विद्यानाथ उपाध्याय भट्टले सम्मान पत्र प्रदान गरे ।

सोही कार्यक्रममा ‘नेपालमा तन्त्र’ पुस्तकको साथमा ‘गीतामा लुकेको तन्त्र’ पुस्तकको पनि विमोचन गरिएको थियो ।

‘नेपालमा तन्त्र’ पुस्तकमा ३५ जना तन्त्रविद्, अध्येताहरुको तन्त्र सम्वन्धि विभिन्न लेखहरु समावेश छ । गीतामा लुकेको तन्त्र महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् ।

कार्यक्रममा बोल्दै तन्त्र विद्या शिरोमणि प्रा. उपाध्यायले तन्त्रका विभिन्न आम्नायको बारेमा प्रकाश पार्नुभयो । त्यस्तै तन्त्र साधना रत्नले कृष्णको जीवनमा तन्त्रको प्रभावको बारेमा प्रकाश पारे ।

सम्मानित व्यक्तित्वहरु प्रा. गुरुङ, डा. बास्तोला, डा. लामिछानेको साथमा संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्री, सिद्धान्त ज्योतिषज्ञ प्रा.डा. श्रीकृष्ण अधिकारी, तन्त्रविद् मृगेन्द्र राज सुवेदीलगायतले नेपालमा तन्त्रको अभ्यास, अवस्था र महत्वलाई लिएर मन्तव्य राखेका थिए ।

डा. सन्ध्या खनाल पराजुली र आयोजक संस्था एकेडमि अफ तन्त्र एन्ड स्यामनिक स्टडीजका प्रवक्ता सन्दीप सापकोटाले संस्थाले गर्दै आएको गतिविधिको साथै सांगठनिक संरचनाको बारेमा जानकारी दिए । 

Categorized in समाज