arin enterprises

महिला दिवस र नारी अधिकार

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २४, मंगलबार

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ ।

नेपालमा पनि महिला अधिकार क्षेत्रमा कार्यरत संघ संगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेको छ । महिला जागरण र महिला हक अधिकारको आवाज बुलन्द गर्दै हरेक वर्ष मार्च ८ का दिन मनाईँदै आएको यो दिवसको थालनी १९०९ बाट भएको हो । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९०९ बाट यो दिवस मनाउन थालिएको हो । तर त्यो समयमा विश्वभरी दिवस मनाउने दिनमा भने एकरुपता थिएन । तर १९१४ बाट भने विश्वभरी नै अंग्रेजी महिनाको मार्च ८ मा नै दिवस मनाउन थालिएको हो ।

नेपालमा भने वि.सं. २०१६ देखि मात्र यो दिवस मनाउन थालिएको हो । नेपालमा नारी दिवस मनाउँदा विश्वले भने ५०औं नारी दिवस मनाइसकेका थिए । सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बीजारोपण भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा क्लारा जेट्किनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् । उनैको प्रस्ताव पारित हुँदै यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । न्युजिल्यान्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएका थिए ।

नारीलाई पनि पुरुष सरह अधिकार र स्वतन्त्रता दिनुपर्ने आवाज उठाउँदै संयुक्त राष्ट्र संघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र अन्य देशमा पनि महिलाहरुले मताधिकार पाए ।  रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्यान्डमा सन् १९७१ मा नारीलाई मताधिकार दिइएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो । भारतमा भारतीय राष्ट्रिय कांग्रेसले त्यहाँको अधिवेशनमा नारीलाई मत दिने अधिकार दिन माग गरेकोमा त्यसबेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइएको थियो । पछि सन् १९२० देखि १९२९को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइएको थियो ।

यसरी विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलङ्कामा सिरिमाओ बन्दरानाइके, भारतमा इन्दिरा गान्धी, बेलायतमा मार्गरेट थ्याचर, पाकिस्तानमा बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइराला नेतृत्व सरकारमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकोमा अहिले आएर नेपालको राष्ट्रपति जस्तो गरिमामय् पदमा महिला हुनुहुन्छ । त्यस्तै विगतमा सभामुख तथा सर्वाेच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको विश्व इतिहासमा नारी अधिकारको क्षेत्रमा नेपाल अग्रपङ्क्तिमा देखापर्नु हो ।

Categorized in बिचार
SKIP THIS maharjan complex bumper adv