arin enterprises

किराँत समुदायका महागुरु फाल्गुननन्दको जन्मजयन्ती मनाईँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक २५, मंगलबार

आज कात्तिक २५ गते, किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्ती । महागुरु फाल्गुननन्द जयन्ती किराँत धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाउँदैछन् ।

१९४२ साल कात्तिक २५ गते पूर्व नेपालको ईलाममा जन्मेका फाल्गुनन्दले पूर्वी नेपालका पहाडी जिल्लाहरूमा बसोबास गर्ने किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउँदै शिक्षाको प्रार्दुभाव गर्न विशेष भूमिका खेलेको मानिन्छ ।

त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको ठुलो भूमिका छ । उनले पूर्वी नेपालका विभिन्न ठाउँहरूमा मग हिम मन्दिरको स्थापना गर्न विशेष योगदान पुर्याएका थिए ।

उनको सम्मान स्वरूप पाँचथरमा फाल्गुनन्द गाउँँपालिका भनेर नामाकरण समेत गरिएको छ । झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ ।

त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ । नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् ।

जीवनी

फाल्गुनन्दलाई नेपाल सरकारले वि.स २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । समाज सुधारकका रूपमा पनि लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो ।

बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिनुभएका फाल्गुननन्दको न्वारनमा नर ध्वज लिङ्देन नाम राखिएको थियो ।

तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उहाँको नाम फाल्गुननन्द रहेको हो ।

आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुननन्दले आफ्ना धारणा राखेका थिए ।

उहाँले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूल देवतालाई सदा बिहान र बेलुका पूजा आराधना गर्नु पर्ने, माछा मासु, मदिरा सेवन गर्न नहुने धारणा राख्ने गर्थे ।

सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उहाँकै साथीहरूले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुननन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएका थिए ।

वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घसंस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएको छ ।

Categorized in राष्ट्रिय